मोलुङमा ४५ वर्षीय पुरुष मृत अवस्थामा फेला

भिजन समाचार
298
Shares

ओखलढुङ्गाको मोलुङ गाउँपालिका–४ बस्ने ४५ वर्षीय विष्णु नेपाली मृत अवस्थामा फेला परेका छन् । मोलुङ गाउँपालिका–३ कुलखोला स्थित कुलोको पानीमा घोप्टो परेको अवस्थामा नेपालीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले बताए ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी प्राप्चाबाट टोली खटिएर घटनास्थल सुरक्षित गरिएको कार्कीले बताए । साथै आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय बरुणेश्वर, रामपुरबाट प्रहरी निरीक्षक मनिष लुईटेलको कमाण्डमा थप टोली घटनास्थलतर्फ खटिएको छ ।

घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यसैविच ओखलढुंगाको मोलुङ गाउँपालिका–६ की १४ वर्षीया बालिकाको एलुङ खोलाले बगाउँदा मृत्यु भएको छ ।

बुधबार दिउँसो मोलुङ–६ र खिजीदेम्बा गाउँपालिका–६ को सिमानामा पर्ने एलुङ खोलाले बगाउँदा मोलुङ–६ नयाँवनकी १४ वर्षीया निमडोमा शेर्पाको ज्यान गएको हो । निगुरो टिप्न गएकी शेर्पा दिउँसो करिब तीन बजे खोलो तर्ने क्रममा बगाएर बेपत्ता भएकी थिइन् ।