ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा विश्व रेविज दिवसको अवसर पारेर सामुदायिक तथा घरपालुवा कुकुरलाई रेविज विरुद्धको खोप लगाउन सुरु गरिएको छ । सोमबारदेखि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुंगा र सिद्धिचरण नगरपालिकाको संयुक्त आयोजनामा खोप अभियान सुरु भएको हो । खोप निःशुल्क लगाईएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुंगाका निमित्त प्रमुख एवम् पशु चिकित्सक गणेश भट्टराईका अनुसार विशेष गरी सामुदायिक क्षेत्रमा हुने छाडा कुकुरलाई लक्षित गरी खोप लगाउने अभियान सञ्चालन गरिएको हो । उनले रेबिज रोग प्राणघातक भएकाले लागिसकेपछि कुनै उपचार सम्भव नभएकाले यसलाई नियन्त्रण गर्न सबैले सहयोग गर्नुपर्ने बताए ।
सिद्धिचरण नगरपालिका पशु सेवा शाखाकी पशु स्वास्थ्य प्राविधिक हिरा परियारका अनुसार सोमबार पहिलो दिन सात वटा घरपालुवा र ३९ वटा सामुदायिक कुकुरलाई रेविज विरुद्ध खोप लगाइएको छ । खोप अभियान असोज १२ गतेसम्म सञ्चालन हुनेछ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जिल्लाका सबै स्थानीय तहमा रेविज नियन्त्रण कार्यक्रम सञ्चालन गर्न आवश्यक पर्ने भ्याक्सिन, पन्जा, सुई, लार्जेस्ट लगायतका सामग्री उपलब्ध गराउने जनाएको छ ।

प्रतिक्रिया