सडक अवरोध हटाउन युवाहरूको ध्यानाकर्षण

भिजन समाचार
54
Shares

मोलुङ गाउँपालिकाका युवाहरूले ओखलढुंगा–रामपुर सडक खण्डको पहिरे खोलामा देखिएको सडक अवरोध तत्काल हटाउन माग गरेका छन् । दशैं–तिहार नजिकिँदै गर्दा पनि सडक अवरुद्ध हुँदा यात्रु र सर्वसाधारण ठूलो सास्ती भोग्नुपरेको भन्दै उनीहरूले बिहीबार पूर्वाधार विकास कार्यालय ओखलढुंगामा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

मोलुङ गाउँपालिका–२ मा पर्ने उक्त पहिरे खोलामा यस वर्ष मात्र दर्जनौँ पटक सवारी सञ्चालन अवरुद्ध भएको छ । बिरामीलाई अस्पताल पुर्याउन गाह्रो हुने, वर्षायाममा यात्रुहरू पैदलै गन्तव्यमा पुग्न बाध्य हुने समस्या ध्यानाकर्षण पत्रमार्फत उठान गरिएको मोलुङ गाउँपालिका–८ का भीम मणि राईले जानकारी दिए ।

युवाहरूले २४ सै घण्टा जेसीबी उपलब्ध गराई तत्काल अवरोध हटाउन कार्यालयसँग माग गरेका छन् । साथै, पुल निर्माण कम्पनीसँग सम्झौता भए पनि काम सुरु नगरेको गुनासो गर्दै चाडपर्वमा घर फर्किने यात्रु थप संकटमा पर्ने भएकाले तत्काल पहल गर्न आग्रह गरेका छन् ।

सडक अवरोधले स्वास्थ्य देखि दैनिकीमा ठूला समस्या निम्त्याएको भन्दै युवाहरूले अवरोध हटाएर सडक मर्मत गरी सुचारु गर्न र रोकिएको पुल निर्माण कार्य शीघ्र सुरु गर्न माग गरेका छन् । तर यसका लागि मोलुङ गाउँपालिकामा भने सहयोग मागिएको छैन ।