यस वर्षको संविधान दिवस ओखलढुंगामास सामान्य तरिकाले विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीको अध्यक्षतामा बसेको बैठकले विविध कार्यक्रम गर्ने निर्णय गरेको हो ।
जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालय, प्रतिष्ठान, संघ–संस्था र स्थानीय तहहरूले आफ्नो कार्यालय परिसर सरसफाइ गर्ने, झण्डा मर्यादापूर्वक फहराउने र साँझ दीप प्रज्वलन गर्ने निर्णय गरिएको प्रशासकीय अधिकृत तथा सूचना अधिकारी अनुप पौडेलले जानकारी दिए ।
योजना अनुसार असोज २ गते सिद्धिचरण नगरपालिका–१२ स्थित श्रष्टा पार्कमा सरसफाइ कार्यक्रम हुनेछ । असोज ३ गते संविधान दिवसकै दिन करदाता सेवा कार्यालय अगाडिदेखि सिद्धिचरण पार्कसम्म प्रभातफेरी आयोजना गरी शुभकामना आदानप्रदान गर्ने कार्यक्रम तय भएको छ ।
सोही दिन संविधानको महत्वबारे जानकारीमूलक रेडियो अन्तर संवाद कार्यक्रम समेत सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । साथै, आम नागरिकलाई आफ्ना घरको छत, बरण्डा र परिसरमा राष्ट्रिय झण्डा मर्यादितपूर्वक सजाउन र साँझ दीप प्रज्वलन गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया