ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१२ मा परिवर्तनशील महिला सामुदायिक संस्थाले सञ्चालन गर्दै आएको अल्पकालीन सुरक्षित आवास गृह (सेफ हाउस) बाट गत आर्थिक वर्ष २०८१÷०८२ मा ९३ जना हिंसा पीडित महिलाले सेवा लिएका छन् ।
सुरक्षित आवास गृह सञ्चालका अध्यक्ष पेम्डोमा शेर्पाका अनुसार ओखलढुंगाका विभिन्न पालिका र अन्य जिल्लाबाट गरी सेवा लिने महिलामध्ये सबैभन्दा बढी २५ जना सिद्धिचरण नगरपालिकाका थिए । त्यसपछि मोलुङ गाउँपालिकाका २२, चिशंखुगढीका २०, मानेभञ्ज्याङका १२, सुनकोशी र लिखु गाउँपालिकाका चार–चार, खिजीदेम्बा र चम्पादेवी गाउँपालिकाका एक–एक जना र अन्य जिल्लाका चार जना रहेका छन् ।
गत आवमा पीडित महिलासहित उनीहरुकै कुरुवा र बालबालिका गरी थप ३४ जनाले समेत आवास गृहमार्फत सहयोग प्राप्त गरेको अध्यक्ष शेर्पाले जानकारी दिइन् ।
सुरक्षित आवास गृहले महिलामाथि हुने हिंसा, घरेलु समस्या तथा सामाजिक जोखिममा परेकालाई मनोविमर्श, कानुनी प्रक्रियाबारे सहयोग, पुनर्मिलन, प्राथमिक उपचार, सामान्य सिकाइ, शैक्षिक तथा लत्ताकपडा सहयोग, यातायात खर्च र पारिवारिक परामर्शजस्ता सेवा प्रदान गर्दै आएको छ ।
साथै पीडित महिलालाई सुरक्षित वातावरणमा राखी आत्मनिर्भर बनाउन आवश्यक सीपमूलक तालिम, परामर्श र पुनस्र्थापना कार्यक्रम पनि सञ्चालन गरिएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया