नजिकिँदै गरेको दशैँ लगायतका चाडपर्वलाई लक्षित गर्दै ओखलढुंगामा बजार अनुगमन सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले प्रशासकीय अधिकृत राजन श्रीवास्तवको संयोजकत्वमा मंगलबार सिद्धिचरण नगरपालिका–११ र १२ मा पर्ने हुलाक डाँडा क्षेत्रका होटल, किराना पसल र गोदामलगायत १५ वटा पसलमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा १२ हजार ३०८ रुपैयाँ बराबरको म्याद गुज्रिएको अखाद्य सामग्री जफत गरी नष्ट गरिएको प्रशासकीय अधिकृत श्रीवास्तवले जानकारी दिए । उनले चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका वस्तु बिक्री गर्ने जस्ता समस्या बढ्ने भएकाले बजार अनुगमनलाई थप सक्रिय बनाइएको बताए ।
म्याद गुज्रिएका अखाद्य वस्तु उपभोग गर्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले गुणस्तरीय तथा म्यादभित्रका सामान मात्र खरिद–विक्रि गर्न प्रशासनले उपभोक्ता र व्यापारीलाई आग्रह गरेको छ ।
अनुगमनलाई सदरमुकाम, बजार क्षेत्र मात्र नभई ग्रामीण भेगसम्म सक्रिय बनाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अनुगमनका क्रममा म्याद गुज्रिएका अखाद्य सामग्री बिक्री गर्ने, मूल्य सूची नराख्ने, दर्ता तथा नवीकरण नगरेका पसललाई कारबाही गरिने चेतावनी दिइएको छ ।

प्रतिक्रिया