ओखलढुंगाका स्थानीय तहमा कर्मचारी अभाव, सेवा प्रवाह प्रभावित

AI काे मद्दतले बनाइएकाे तस्वीर।

जिल्लाका आठवटै स्थानीय तहमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या देखिएको छ । वडादेखि पालिका कार्यालयसम्म आवश्यक संख्यामा जनशक्ति अभाव हुँदा नागरिकलाई छिटोछरितो सेवा लिन कठिनाइ हुने गरेको जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतहरूले बताएका छन् ।

जिल्लाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकामा १८ पद रिक्त रहेको छ । दरबन्दी पूरा नहुँदा शिक्षा, स्वास्थ्य, प्राविधिक र प्रशासनिक क्षेत्रमा कामकाजमै ढिलाइ हुने गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख फडिन्द्र कटवालले बताए । उनले यसबारे जानकारी केही दिन अघि जिल्ला समन्वय समितिले आयोजना गरेको वार्षिक प्रगति समीक्षामा दिएका हुन् ।

सबैभन्दा बढी अभाव चम्पादेवी गाउँपालिकामा ३९ जना कर्मचारीको रहेको छ भने मानेभन्ज्याङमा ३८, चिशंखुगढीमा १९, खिजीदेम्बामा १६, मोलुङमा १५ र सुनकोशीमा १२ जना दरबन्दी अनुसार कर्मचारी कम छन् । लिखु गाउँपालिकामा समेत आवश्यक संख्यामा कर्मचारी नहुँदा दैनिक सेवा प्रभावित भएको पालिकाले जनाएको छ ।

दरबन्दी खाली रहेकाले नियमित कामकाजमै ढिलाइ हुने, नागरिकले पाउने सेवामा समस्या देखिने र कार्यभार अत्यधिक बढ्ने चम्पादेवी गाउँपालिकाका प्रशासकीय अधिकृत धनराज श्रेष्ठले बताए । उनका अनुसार अस्थायी वा करारमार्फत केही समयका लागि कर्मचारी भर्ना गर्ने प्रयास भए पनि दीर्घकालीन समाधान हुन सकेको छैन ।

जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराईले दरबन्दी अनुसारका कर्मचारी पठाउन संघीय सरकार र सरोकारवाला निकायसँग पहल गर्ने प्रतिबद्धता जनाएका छन् । उनका अनुसार कर्मचारी अभावका कारण नागरिक मात्र होइन, काम गर्ने जनप्रतिनिधि र कार्यालय प्रमुखहरू समेत दवाबमा रहेका छन्, त्यसैले समस्याको दीर्घ समाधानका लागि प्रयास गर्ने तयारी भइरहेको छ ।