कोशी प्रदेश सरकारले ल्याएको आमसञ्चार विधेयक विरुद्ध प्रदेशभरका पत्रकार एकैपटक विरोधमा उत्रिएका छन् । नेपाल पत्रकार महासंघको केन्द्रीय आह्वान अनुसार कोशी प्रदेशका सबै १४ जिल्लामा बिहीबार बिहान एकै समयमा धर्ना कार्यक्रम गरिएको हो ।
ओखलढुंगामा बिहान ११ बजेदेखि १२ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरूले कालोपट्टी बाँधेर शान्तिपूर्ण तर दृढ उपस्थिति मार्फत आपत्ति जनाए । उनीहरूले “पत्रकारिता अपराध होइन”, “प्रेस स्वतन्त्रतामाथि अंकुश अस्वीकार्य” जस्ता नारा बोकेका प्लेकार्ड प्रदर्शन गरेका छन् ।
महासंघ जिल्ला सचिव मेनुका श्रेष्ठका अनुसार प्रदेशसभामा विचाराधीन विधेयकका केही प्रावधानहरूले पत्रकारिता स्वतन्त्रताको जग नै हल्लाउने खतरा भएकाले सच्याउनुपर्ने माग गरिएको हो । महासंघ जिल्ला अध्यक्ष पूर्ण प्रसाद न्यौपानेले विधेयकमा संशोधन नभएसम्म आन्दोलन चरणबद्ध रुपमा तीव्र पारिने चेतावनी दिए ।
भदौ १३ गते बस्ने भनिएको प्रदेशसभा बैठकले विधेयक पारित गर्ने तयारी गरेपछि पत्रकारहरूको आन्दोलन थप उग्र हुने संकेत छ । यसअघि पनि महासंघले आमसञ्चार विधेयकमा प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको सुरक्षा विपरीत रहेका धाराहरू तत्काल संशोधन गर्न माग गर्दै प्रदेश सरकारलाई स्मरणपत्र बुझाइसकेको छ ।


प्रतिक्रिया