ठेकेदारको लापरबाहीका कारण ओखलढुंगाको मोलुङ गाउँपालिका–७ पात्लेमा केन्द्रीय विद्युत विस्तार अन्योलमा परेको छ । विद्युतका पोल गाउँमा ल्याइए पनि काम अधुरो छाडेर ठेकेदार सम्पर्कविहिन भएपछि स्थानीय अझै अन्धकारमै बस्न बाध्य भएका छन् ।
स्थानीय आङ दावा शेर्पाका अनुसार गाउँमै सञ्चालन हुँदै आएको लघु जलविद्युत बारम्बार बिग्रिने र केन्द्रीय प्रसारण लाइनको काम अलपत्र पर्दा वडाको माथिल्लो भेगका बासिन्दाको दैनिकी कष्टकर बनेको छ । साविक वडा नं. ७, ८ र ९ मा दुई वर्षअघि नै केन्द्रीय विद्युत पुगे पनि साविक वडा नं. १ र २ का तालकोट, कातिके, खस्रुबोट, भस्मेखोला, पात्ले र सुर्के लगायतका बस्ती अझै अन्धकारमै छन् ।
शेर्पाका अनुसार आठ महिना अघि ल्याइएका पोल गाउँका विभिन्न स्थानमा अलपत्र छन् भने पोल गाड्न खनिएका खाल्डो पुरिएका छन् । “घरायसी कामकाजदेखि विद्यार्थीको गृहकार्यसम्म विधुत अभावले कष्टपुर्ण चलिरहेको छ,” उनले भने ।
साविक वडा नं. २ मा स्थानीय लघु जलविद्युत भए पनि बर्खायाममा उत्पादनमा समस्या आउँछ । सोलार जडान गर्न आर्थिक अवस्था कमजोर भएकाले पनि धेरै घरधुरी अन्धकारमै छन् ।
वडा अध्यक्ष हेम बहादुर सुनुवरका अनुसार केन्द्रीय विद्युत विस्तारका लागि प्रयास भइरहे पनि पोल ल्याएपछि ठेकेदार सम्पर्कविहिन भएको उनले पनि पुष्टि गरे । “पालिका, जिल्ला, प्रदेश र संघ सबै निकायमा गुहारेर पनि सुनुवाइ भएन, योजना अलपत्र छ । वडाका १८० बढी घरधुरीमा अझै विद्युत पुगेको छैन,” उनले बताए । राजनितिक आडमा ठेकेदारले लाहापरबाही गरेको वडाअध्यक्ष सुनुवारले आरोप लगाय ।
बोहोरा युनिक जेभीले पात्लेमा विधुत विस्तारको कामको जिम्मा लिएका थिए । एक महिनाभित्र काम सुरु गर्ने तयारी रहेको निर्माण कम्पनीका राजेन्द्र बोहोराले बताए । नेपाल विद्युत प्राधिकरण ओखलढुंगा वितरण केन्द्रका प्रमुख ईश्वर श्रेष्ठका अनुसार जिल्लाका विभिन्न पालिकाहरुका केन्द्रीय विद्युत विस्तारको काम भईरहेको छ ।

प्रतिक्रिया