ओखलढुंगामा केही पालिकामा जग्गा वर्गीकरण नहुँदा नयाँ कित्ताकाट रोकिएको छ । जिल्ला नापी कार्यालयका अनुसार सुनकोशी, मानेभन्ज्याङ, लिखु, चिशंखुगढी र चम्पादेवी गाउँपालिकाले अझै पूर्ण रूपमा जग्गा वर्गीकरण नगरेका कारण सेवाग्राही आफ्नो जग्गा कित्ताकाट गर्न सकिरहेका छैनन् ।
हालसम्म सिद्धिचरण नगरपालिका, मोलुङ र खिजीदेम्बा गाउँपालिकाले मात्र जग्गा वर्गीकरण गरेर प्रमाणित विवरण पेश गरेका छन् । जग्गा वर्गीकरण नभएका कारण कित्ताकाट ठप्प भएको नापी कार्यालय प्रमुख सविन बिकेले बताए । सेवाग्राहीहरूले आफ्नो अंशबन्डा वा जग्गा कारोबार गर्न नपाउँदा समस्या भइरहेको प्रमुख बिकेको भनाई छ ।
सुनकोशी गाउँपालिकाले भने भदौ–असोजपछि वर्गीकरणको काम सुरु गर्ने योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले बताए । मानेभन्ज्याङ गाउँपालिकामा केही विवरण प्रविष्ट हुने काम बाँकी रहेकाले एक महिनाभित्र वर्गीकरण पूरा हुने अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले जानकारी दिए । लिखु गाउँपालिकाले वर्गीकरण तयार भए पनि पारित हुन बाँकी रहेको अध्यक्ष अशोक कुमार कार्कीले बताए ।
चिशंखुगढी र चम्पादेवी गाउँपालिकाले वर्गीकरण गरिसकेको दाबी गरे पनि नापी कार्यालयले हालसम्म प्रमाणित विवरण प्राप्त नभएको जनाएको छ ।
सरकारले दुई पटक भूउपयोग नियमावली, २०७९ संशोधन गरिसकेको छ । २०७९ मङ्सिरपछि जग्गालाई १० क्षेत्र वर्गीकरण गर्नुपर्ने भए पनि धेरै पालिकाले कार्यान्वयन नगरेका कारण २०८० साउनमा नियमावली फेरि संशोधन गरिएको थियो ।
नियमावली अनुसार, आवासीय र व्यापारिक जग्गा ८० वर्गमिटर सम्म, कृषि जग्गा एक रोपनीसम्म कित्ताकाट गर्न पाइन्छ । वर्गीकरण नगरी कित्ताकाट रोकिँदा जग्गा कारोबारमा असर, किनबेच घट्ने, आर्थिक शिथिलता र राजश्व संकलनमा पनि गिरावट हुने समस्या देखिएको छ ।
नापी कार्यालय ओखलढुंगाले जग्गा वर्गीकरणको काम तत्काल सुरु गर्न बाँकी पालिकालाई आग्रह गरेको छ ।

प्रतिक्रिया