घटना घटेको समयमा मात्र भेट हुने प्रहरी र पीडितबीचको दूरी घटाउन जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले ‘पीडित सँग पुनः भेटघाट’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।
प्रहरीका अनुसार, यस अभियानको उद्देश्य अपराधपछि पीडितलाई सुरक्षा र न्यायको प्रत्याभूति दिलाउनु, उनीहरूको पछिल्लो अवस्था बुझ्नु र अदालती प्रक्रियामा सहजीकरण गर्नु हो । दण्डहीनता सिर्जना हुन नदिन र पीडितको हक–अधिकार सुनिश्चित गर्न यो कार्यक्रमलाई व्यवस्थित रूपमा निरन्तरता दिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले बताए ।
चालु आर्थिक वर्षमा अहिलेसम्म ४ जना र अघिल्लो वर्ष ५१ जना गरी ५५ जना पीडितलाई घरमै पुगेर भेटिएको प्रहरीले जनाएको छ । भेटघाटका क्रममा पीडितको शारीरिक, मानसिक, आर्थिक र सामाजिक अवस्था, अदालती प्रक्रियाको प्रगति, समाधान हुन नसकेका मुद्दा र अपेक्षाबारे छलफल हुने गरेको छ ।
अपराध पीडित संरक्षण ऐन, २०७५ मा भएको प्रावधान अनुसार सञ्चालन भइरहेको यो कार्यक्रम सातामा एक–दुई पटकसम्म जिल्लाभरका प्रहरी इकाइहरूले गर्ने गरेका छन् । घरेलु हिंसादेखि हत्या–मुद्दासम्मका पीडितलाई प्रत्यक्ष भेटेर ‘नेपाल प्रहरी पीडितको साथमा छ’ भन्ने सन्देश दिन यसलाई प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्न खोजिएको बताईएको छ ।

प्रतिक्रिया