ओखलढुंगाको सुनकोशी गाउँपालिकाले नागरिकलाई सहज, छिटो र पहुँचयोग्य सेवा दिन वडास्तरमै राष्ट्रिय परिचयपत्र दर्ता शिविर सञ्चालन थालेको छ । भदौ २ गतेदेखि सुरु भएको शिविरमार्फत हालसम्म वडा नम्बर ७, ८ र ९ मा ४७६ जनाले सेवा लिइसकेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको वडा नम्बर ७ मा ९२ जनाले नयाँ राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका छन् भने ७० जनाले आफ्नो विवरण चेकजाँच गराएका छन् । त्यस्तै सुनकोशी–८ मा ७३ जनाले नयाँ विवरण दर्ता गराउँदा १३५ जनाले विवरण चेकजाँच गराएका छन् ।
शनिबारदेखि सुरु भएको सुनकोशी–९ को शिविरमा पहिलो दिन ३५ जनाले नयाँ विवरण दर्ता गराएका छन् भने ७१ जनाले विवरण चेकजाँच गराएका छन् । सेवा लिन बाँकी रहेका नागरिकका लागि आइतबार पनि वडामा शिविर सञ्चालन हुने वडा अध्यक्ष हितराज कार्कीले जानकारी दिए ।
पालिकाका सबै १० वटै वडामा क्रमशः सेवा विस्तार गरिने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले बताए । शिविर सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय र पञ्जिकरण विभागसँग समन्वय गरिएको पनि प्रमुख प्रशासकीय अधिकृत कार्कीले बताए ।

प्रतिक्रिया