सुनकोशीः सडक अवरुद्ध, स्थानीय हैरान, गाउँपालिकाकाे बेवास्ता

भिजन समाचार
528
Shares

ओखलढुंगाको सुनकोशी गाउँपालिका–२ का मुख्य सडकहरु वर्षाका कारण अवरुद्ध भएका छन् । वडाको बसेरी खोला र मगरखोलाको सडकमा माथिबाट आएको खहरे बाढी र पहिरोले चार दिन देखी अवरुद्ध छ ।

गाउँ आउने मुख्य सडक अवरुद्ध हुँदा स्थानीयवासीले दैनिक आवतजावतमा ठूलो समस्या भोगिरहेको अर्जुन तामाङले बताए । दैनिक उपभोग्य सामाग्री ओसारपसारमा समस्या, विरामीलाई उपचारमा लैजान समस्या भएको तामाङको भनाई छ ।

सडक अवरुद्ध भएको लामो समय बित्दासमेत वडा र पालिकाले कुनै ठोस पहल नगरेको तामाङले गुनासो गरे । उनले भने, “हामीले पटक–पटक पालिकासँग जेसिबी पठाउन आग्रह ग¥यौं, तर पालिकाबाट सधैं बहाना मात्रै सुनिन्छ । बर्खामा त अवरोध भइहाल्छ नि भनेर टारिन्छ, तर समस्या झेल्ने त हामी नै हौँ ।”

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले भने जेसिबीमा तेल अभाव भएका कारण तुरुन्त पठाउन नसकिएको स्पष्टीकरण दिए । निरन्तरको वर्षाले समस्या झन् बढाएको उनको दाबी छ । तर स्थानीयवासीले पालिकाले अग्रिम तयारी नगरेको र योजनाविहीन व्यवस्थापनले सडक खोल्न ढिलाइ भएको आरोप लगाएका छन् । विपदको हुने समयमा पालिकाको प्रभावकारी पुर्व तयारी नभएको आरोप लगाएका छन् ।

यसअघि अवरुद्ध हुँदा स्थानीयले श्रमदान मार्फत बाटो खुले पनि हालको अवरोध ठूलो भएकाले गाउँपालिकाको सहयोगबिना सम्भव नभएको स्थानियको भनाइ छ । यस अघि पनि सडक सुचारु गर्न गाउँपालिका सँग जेसीबी माग्दा नदिएकाे उनिहरुकाे भनाई छ ।

चार दिनदेखि सडक अबरुद्ध हुँदा विद्यालय, स्वास्थ्य संस्था र बजार आवतजावतमा सामान्य जनजीवन नै प्रभावित भएको छ । सडक अवरुद्ध भएकाले वडा कार्यालयको निर्माणमा समेत अवरोध पुुगेको छ ।

स्थानीयले जनप्रतिनिधि र पालिका प्रशासनलाई तत्काल पहल गरेर सडक सुचारु गर्न आग्रह गरेका छन् । अवरुद्ध सडकका कारण बारम्बार समस्या दोहोरिरहेकाले दीर्घकालीन योजना बनाउन समेत उनीहरूले पालिकालाई दबाब दिएका छन् ।