ओखलढुंगा जिल्लाका स्थानीय तहका न्यायिक समितिहरूमध्ये सबैभन्दा बढी मुद्दा सिद्धिचरण नगरपालिकामा दर्ता भएका छन् । गत आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाभर ६० थान मुद्दा दर्ता भएकोमा सिद्धिचरण नगरपालिकामै १५ थान मुद्दा दर्ता भएको तथ्याङ्कले देखाएको छ ।
सिद्धिचरण नगरपालिकामा दर्ता भएका १५ मुद्दामध्ये १० थान मेलमिलाप मार्फत टुंग्याइएको छ भने एक थान मेलमिलाप हुन नसकी अदालतमा दर्ता भएको छ । बाँकी चार थान मुद्दा भने चालु आव २०८२/०८३ मा सारिएर प्रक्रियामा रहेको उपप्रमुख केदार बाबु बस्नेतले जानकारी दिए ।
त्यसैगरी मानेभञ्ज्याङ गाउँपालिकामा ११ थान मुद्दा दर्ता भएकोमा सात थान मेलमिलाप भएका छन् भने चार थान अदालतमा पुगेका छन् । मोलुङ गाउँपालिकामा १० थान मुद्दा दर्ता हुँदा आठ थान मेलमिलाप भएका छन् भने दुई थान हाल प्रक्रियामा रहेका छन् ।
चिशंखुगढी गाउँपालिकामा दर्ता भएका छ मुद्दामध्ये पाँच थान मेलमिलाप भएका छन् भने एक थान अदालतमा दर्ता भएको छ । चम्पादेवी गाउँपालिकामा पाँच मुद्दा दर्ता भएका मध्ये दुई थान मेलमिलाप, एक थान अदालतमा र बाँकी दुई चालु आवमा सारिएका छन् ।
लिखु गाउँपालिकामा आठ मुद्दामध्ये पाँच मेलमिलाप र तीन प्रक्रियामा रहेका छन् भने सुनकोशी गाउँपालिकामा चारमध्ये दुई मेलमिलाप भएका छन् । खिजीदेम्बा गाउँपालिकामा भने सबैभन्दा कम एक थान मात्र मुद्दा दर्ता भएको र त्यो मेलमिलापमै टुंग्याइएको उपाध्यक्ष सुशिला तामाङले जानकारी दिइन् ।
जिल्लाभर दर्ता भएका ६० थान मुद्दामध्ये ४० थान मेलमिलापमार्फत समाधान भएका छन् । नौ थान अदालतमा पठाइएका छन् भने बाँकी ११ थान चालु आर्थिक वर्षमा सारिएका छन् ।
न्यायिक समितिमा दर्ता हुने मुद्दामध्ये सामान्य विवाद, पारिवारिक समस्या, जग्गा–जमिन, लेनदेन, खानेपानी, सडक, ज्याला–मजदुरीलगायतका विषय प्रमुख रहेको जनप्रतिनिधिहरूले बताएका छन् । उनीहरूका अनुसार समितिमार्फत धेरैजसो विवाद गाउँमै मेलमिलाप हुने भएकाले नागरिकले गाउँस्तरमै न्याय पाउने वातावरण बनेको छ ।

प्रतिक्रिया