अविरल वर्षाका कारण ओखलढुंगाको लिखु गाउँपालिकामा एक घर भत्किएको छ । बाढीले धानबालीमा समेत ठूलो क्षति पुगेको छ ।
शनिबार साँझ परेको वर्षाले लिखु–२ सिम्ले बस्ने डिल्लीबहादुर कामीको ढुङ्गा–माटोले बनेको जस्तापाता छाएको एकतले कच्ची घर भत्किँदा पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । वर्षाले घरसँगै उनको धानबालीमा पनि करिब १२ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
यस्तै, सोही वडाका होमबहादुर तामाङको आधा रोपनी धानबालीमा लेदो पस्दा ६ हजार, हरिबहादुर बुढथोकीको ३ रोपनी धानबालीमा ३६ हजार, मुना खड्काको एक रोपनीमा १२ हजार र सिंहदेवीका भोजबहादुर खड्काको एक रोपनीमा लेदो पस्दा १२ हजारसहित करिब ७८ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीले बताए । यद्यपी क्षतिको थप विवरण संकलन भइरहेको प्रहरी निरीक्षक कार्कीको भनाई छ ।

प्रतिक्रिया