ओखलढुंगाको खिजीफलाटेमा रहेको इलाका प्रशासन कार्यालय प्रमुख विहीन हुँदा दैनिक प्रशासनिक कामकाज ठप्प जस्तै बनेको छ । दुई सातादेखि प्रमुख नहुँदा नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, विभिन्न सिफारिस तथा प्रमाणिकरण लगायतका सेवा प्रभावित भएका छन् ।
कार्यालयमा आवश्यक कर्मचारी भए पनि धेरै प्रक्रिया प्रमुखको अनुमोदनबिना अघि बढ्न नसक्ने भएकाले सेवाग्राहीलाई समस्या भएको हो । सो कार्यालयमार्फत खिजीदेम्बा गाउँपालिका र लिखु गाउँपालिकाका वडा नं. ६, ७, ८ र ९ का नागरिकलाई सेवा प्रदान हुँदै आएको छ ।
तर, पछिल्ला दिनमा नागरिकता लगायतका कामका लागि सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयमै धाउनुपरेको लिखु–९ का वडा अध्यक्ष केशवहरी ढुंगेलले बताए । अध्यक्ष ढुंगेलका अनुसार नियमित सेवा सञ्चालन हुँदा सहज भएका नागरिक अहिले पुनः पुरानै सास्तीमा परेका छन् । पोकलीबाट मात्रै पछिल्लो दुई सातामा तीन जनाले नागरिकता सिफारिस लिएको वडा कार्यालयले जनाएको छ ।
खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले आफू काठमाडौँमा भएकाले प्रत्यक्षरूपमा बुझ्न नसके पनि सेवा प्रभावित भएको हुन सक्ने प्रतिक्रिया दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रशासकीय अधिकृत अनुप पौडेलले हाल कार्यालय प्रमुख पेशल विश्वकर्मा काज फिर्ता भएर जिल्ला प्रशासनमा आइसकेकाले नयाँ प्रमुख खटाउने तयारी भइरहेको बताए । पौडेलका अनुसार गृह मन्त्रालयबाट खटिएका नायब सुब्बा सुबित कुमार सुनुवारलाई अझै अधिकार प्रत्यायोजन नभएकाले नागरिकता लगायतका सेवा अवरुद्ध भएको हो ।
जिल्ला प्रशासन कार्यालयले प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीमार्फत गृह मन्त्रालयमा पहल भइसकेको र चाँडै खिजीफलाटेमा प्रमुख खटाएर सेवा नियमित गरिने बताईएको छ ।

प्रतिक्रिया