ओखलढुंगाको सुनकोशी गाउँपालिका–१० र मोलुङ गाउँपालिका–१ जोड्ने मान्द्रे दोभानको पक्की पुलमा महिनाैंदेखि लेदो जमेको छ । आवागमनमा कठिनाइ भए पनि जिम्मेवार निकायको समयमै चासो नदेखिँदा यात्रु र सवारी साधनका चालकहरू दैनिक सास्ती खेपिरहेका छन् ।
यो पुल सुनकोशी, चम्पादेवी र लिखु गाउँपालिकातर्फ जाने मुख्य मार्ग भएकाले दैनिक दर्जनौँ सवारी साधनको आवतजावत हुन्छ । तर, करिब एक महिना अघि पात्लेछापबाट खसेको पहिरोको लेदो पुलको मोलुङतर्फको भागमा जमेको छ भने, सुनकोशीतर्फ पनि माथिबाट आएको माटो र ढुंगाले पुल अवरुद्ध छ ।
स्थानीय सरोज कुमार धमलाका अनुसार दुवै तिरको पहिरो तत्काल नपन्छ्याउँदा समस्या बढ्दै गएको छ । “पुल पार गर्ने क्रममा सवारी फस्ने, बाइक चिप्लिने घटना भइरहेका छन् । म पनि केहीपटक बाइकमा लडेको छु,” उनले भने ।
यस्तो अवस्था लामो समय रहँदा दुवै गाउँपालिकाले समस्या समाधानमा चासो नदेखाएको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् ।
तर, सुनकोशी गाउँपालिका–१० का वडा अध्यक्ष छविरमण धमलाले भने, यसअघि मानवबल प्रयोग गरेर लेदो हटाउने र सडक हेरालु राख्ने काम गरिँदै आएको बताए । “मोलुङतर्फको पहिरोको असर ठूलो भएकाले गाउँपालिका अध्यक्षसँग समन्वय गरेर भोलिसम्ममा पुल सफा गर्ने योजना छ,” उनले स्पष्ट पारे ।
यस्तो समस्या समाधान गर्न पहल नगर्ने स्थानीय तहको ढिलासुस्तीले यातायात मात्र होइन, जनसुरक्षा समेत जोखिम परेको स्थानीयको गुनासो छ । विशेषगरी सुनकाेशीका नागरिकले दैनिक सास्ती भाेगिरहेका छन् ।

प्रतिक्रिया