संस्कृतिको संरक्षण र पुस्तान्तरणका लागि ओखलढुंगामा रोपाइँ जात्रा

भिजन समाचार
44
Shares

ओखलढुंगा सदरमुकाममा नेवार समुदायले आफ्नो संस्कृति जगेर्ना र सामुदायिक सहकार्यको सन्देश दिन रोपाइँ जात्रा निकालेका छन् । पारस्पारिक सहयोगी गुठी सिद्धिचरण नगरपालिका–११ रामबजारको आयोजनामा रोपाइँ जात्रा प्रदर्शन गरिएको हो ।

गुठीका कोषाध्यक्ष बालकृष्ण श्रेष्ठका अनुसार जात्रा निकाल्नुको मुख्य उद्देश्य नेवारी संस्कृतिलाई जीवित राख्नु र नयाँ पुस्तामा परम्पराको महत्व बोध गराउनु हो । श्रेष्ठका अनुसार रोपाइँ जात्राले केवल सांस्कृतिक मनोरञ्जन मात्र नभई सामाजिक सम्बन्ध र समुदायबीचको सहकार्यलाई मजबुत बनाउने सन्देश दिन्छ ।

जात्रामा विभिन्न भेषभूषामा सजिएका कलाकार, हास्य–व्यंग्यात्मक प्रस्तुति, मौलिक बाजा र सांस्कृतिक कार्यक्रम सहित बजार परिक्रमा गरिएको थियो । रामबजार कृष्ण मन्दिरमा औपचारिक कार्यक्रमपछि जात्रा हुलाकडाँडा, भैरवटोल, गणेशटोल हुँदै ओखलढुंगा सदरमुकाम परिक्रमा गरेर पुनः रामबजारमा फर्किएको थियो ।

कार्यक्रममा सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनाल,  प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, सुरक्षा निकायका प्रमुखहरू, जनप्रतिनिधीहरुको उपस्थिती थियो ।

ओखलढुंगाका नेवार समुदायले हिलेजात्रा अन्तर्गत लाखे जात्रा, गाईजात्रा र रोपाइँ जात्रा परम्परागत रूपमा मनाउँदै आएका छन् ।