ओखलढुंगाको लिखु गाउँपालिका–६ स्थित तारे भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । लिखु गाउँपालिका–३ का अन्दाजी ६० वर्षीय तरणबहादुर योगी मंगलबार दिउँसो भीर पार गर्ने क्रममा असन्तुलित भई करिब ५०० मिटर तल खसेका जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिक्रम बहादुर भट्टराईका अनुसार घटनास्थलमै मृत्यु हुने गरी उनलाई गम्भीर चोटपटक लागेको थियो । प्रारम्भिक अनुसन्धानका आधारमा वर्षाका कारण बाटो चिप्लिएर वृद्ध लडेको आशंका गरिएको छ ।
मृतकका छोरा अभिन योगीका अनुसार साउन २० गते घरबाट लिखु गाउँपालिका–८ टारकेराबारीमा फेरि लगाउन गएका उनी मंगलबार घर फर्कने क्रममा तारे भीरमा लडेका हुन् ।
घटनापछि प्रहरी चौकी गाम्नाङ्टारबाट खटिएको टोलीले शव उद्धार गरी कानूनी प्रक्रिया अघि बढाएको छ । थप कारण र विवरण पत्ता लगाउन जिल्ला प्रहरी कार्यालयको टोलीले अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रतिक्रिया