ओखलढुंगामा तीन गुठीको सहभागितामा गाइजात्रा सम्पन्न

भिजन समाचार
52
Shares

ओखलढुंगामा नेवार समुदायले एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाइजात्रा सम्पन्न गरेका छन् । भाद्र कृष्ण प्रतिपदाको दिन मनाइने यो जात्रामा यस वर्ष सदरमुकामका जनहित गुठी (गणेश टोल), पारस्परिक सहयोगी गुठी (रामबजार) र जनसेवा गुठी (रमाइलोडाँडा)ले गाइजात्रा निकालेका हुन् ।

जनहित गुठीबाट एकलक्ष्मी श्रेष्ठ, दिल धकु श्रेष्ठ र होम बहादुर शाक्य, पारस्परिक सहयोगी गुठीबाट शम्भु कुमारी ताम्राकार र जनसेवा गुठीबाट राम श्रेष्ठको सम्झनामा गाइजात्रा निकालिएको हो । दिवंगतको फोटोसहित गाईलाई सिँगारेर बजार परिक्रमा गराइएको थियो ।

राजा प्रताप मल्लको कालमा पुत्रशोकको सन्देश दिन सुरु भएको ऐतिहासिक परम्परा नेवार समुदायले निरन्तरता दिँदै आएको जनहित गुठी ओखलढुंगाका अध्यक्ष ध्रुवकुमार राजभण्डारीले बताए । यस वर्षको गाइजात्रालाई सहज बनाउन सिद्धिचरण नगरपालिकाले सार्वजनिक बिदा दिएको थियो ।