किरात राई वाम्बुले समुदायले आफ्नो महान् चाड ढ्वाङकुम पर्व मनाएका छन् । हरेक वर्ष जनैपूर्णीमाको दिन मनाइने ढ्वाङकुम चाँड वाम्बुले राईको उद्गमस्थल मानिने मानेभञ्ज्याङ क्षेत्रमा मनाइएको हो ।
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाको उँबु, उदयपुर, वाक्सा लगायतका क्षेत्रका वाम्बुले राईहरूले नयाँ अन्नबाली पितृ पुर्खा लिब्जु बाजेलाई चढाउँदै ढ्वाङकुम मनाउँदै आएको मानेभञ्ज्याङ गाउँपालिका–३ का वडा अध्यक्ष जितेन्द्र राईले जानकारी दिए ।
अध्यक्ष राईका अनुसार वाम्बुलेहरुको उद्गम थलो मानिने मानेभन्ज्याङ गाउँपालिका–३ उँबुको ढ्वाङकुमटारमा सामूहिक रूपमा लिब्जु आस्थाको दरबारलाई पुजा गर्दै सामूहिक रूपमा यो पर्व मनाउने चलन छ ।
पछिल्लो समय बसाइसराईले गर्दा उदयपुर र खोटाङ जिल्लामा वाम्बुले समुदायले सामूहिक रूपमा पूजाआजा गर्दै नाचगान गरेर यो पर्व मनाएका छन् । प्रकृति पूजक वाम्बुलेहरुले पूजास्थलमा नयाँ अन्नबाली चढाउनाका साथै कागुनीको भात, कोदोको जाँड र राँगा भैँसीको मासु थुन्सेमा लगेर सामूहिक रूपमा पूजा गर्ने चलन छ ।
चार ठाँउमा आज पुजा गरिन्छ विशेष ढ्वाङकुममा गरिन्छ भने तर्कु, फकुल र सानो जुरोमा पानी बायुङ राईहरु ले सीमे भुमेको पुजा गर्दछन् । बुलु, सिसी, ढ्वाङकुर्मो र काउर्मो गरी चारजना नाक्सो (पुजारी) हरुले फलाकेर पूजाथानमा पूजा गरेपछि जाँड र कागुनीको भात प्रसाद बाँडेर खाने चलन छ ।

पूजास्थलमा नयाँ अन्नबालीका रूपमा मकै, काँक्राजस्ता फलफूल चढाउने गरिन्छ । यसरी पूजा गरेपछि वर्षभरि समुदायका सबैको स्वास्थ्य राम्रो हुने, शान्ति, समृद्धि हुने यस समुदायले विश्वास गर्दछन् ।

प्रतिक्रिया