ओखलढुंगाको लाखे जात्रा, संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनमा टेवा

भिजन समाचार
72
Shares
लाखे नाच प्रदर्शन

ओखलढुंगाको सदरमुकाममा नेवार समुदायको सांस्कृतिक पहिचान झल्काउने संयुक्त लाखे जात्रा सम्पन्न भएको छ । नेवार समुदायको एकता, संस्कृति र सभ्यताको सन्देश दिन निकालिएको जात्राले आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य आकर्षण समेत पाएको छ ।

नेवा देयः दबू जिल्ला समिति ओखलढुंगाको मुख्य आयोजना तथा नगर समिति, वडा नं. ११ र १२ को समिति, जनहित सेवा समाज गुठी गणेशटोल, पारस्पारिक सहयोगी गुठी रामबजार र रमाइलोडाँडा हिले जात्रा समूहको सह–आयोजनामा जात्रा निकालिएको हो ।

सिद्धिचरण नगरपालिका–११ स्थित कर कार्यालय अगाडिबाट सुरु गरिएको जात्रा रामबजार, हुलाकडाँडा, नगरपालिका परिसर, कृष्णटोल, रमाइलोडाँडा हुँदै पुनः कृष्णटोल, गणेशटोल, भैरवटोलसम्म बजार परिक्रमा गरिएको थियो ।

जात्रामा जिल्ला सदरमुकामका तीन वटै गुुठीको लाखे नाच आकर्षणको केन्द्र बनेको थियो । नाचमार्फत समुदायले सांस्कृतिक पहिचानलाई पुनः उजागर गरेका थिए ।

नेवा देयः दबू जिल्ला समिति ओखलढुंगाका अध्यक्ष विमल कुमार श्रेष्ठले संयुक्त जात्राले समुदायबीचको एकता बलियो बनाउनुका साथै संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याएको बताए । “अर्को वर्ष जिल्लाभरका नेवार समुदायलाई समेटेर अझ भव्य रूपमा लाखे प्रदर्शन गर्ने योजना रहेको छ,” श्रेष्ठले जानकारी दिए ।

सिद्धिचरण नगरपालिकाका संस्थापक मेयर मोहन कुमार श्रेष्ठले लाखे जात्राजस्ता सांस्कृतिक कार्यक्रमहरूले ओखलढुंगाको ऐतिहासिक, सांस्कृतिक सम्पदालाई संरक्षण गर्न र आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

संयुक्त लाखे जात्राको अवसरमा सदरमुकाममा ठूलो जनसांख्यिक सहभागिता देखिएको थियो । स्थानीयवासी सहित जिल्लाभित्र र बाहिरबाट आएका पर्यटकहरूको भीडले सदरमुकामलाई सांस्कृतिक माहोलले भरिएको देखिएको थियो ।