ओखलढुंगा । गत वर्ष असोज १२ गते आएको बाढीले सुनकोशी गाउँपालिका–१ बलखुको थुल्मेघाटस्थित तीन वटा पसलमा ठूलो क्षति पु¥याएको थियो । एक वर्ष बित्न लाग्दा पनि प्रभावित व्यवसायीहरूले राहत तथा क्षतिपूर्तिको पर्खाइमा बसिरहेका छन् ।
सुनकोशी नदीको आकस्मिक बाढीले अमृत मगर, डुण्डीराज पहाडी र गोविन्द लुईटेलको पसल पूर्ण रूपमा डुबानमा पारेको थियो । यस्तै, हेमसागर लुईटेल र रेखा सापकोटाको पसलको समान सहितको टहराेमा क्षति भएको थियो ।
व्यवसायी अमृत मगरका अनुसार बाढी आउँदा अधिकांश साना सामान जोगाउन सके पनि फर्निचर, खाट, दराजजस्ता ठूला सामान डुबानमा परी क्षति भएको थियो । “बाढीपछि पसलघरमा करिब दुई मिटर बालुवा जमेको थियो,” उनले भने, “त्यो बालुवा पन्छाउन मात्रै पचास हजार रुपैयाँ खर्च भयो ।”
व्यवसायी डुण्डीराज पहाडीले पनि ठूला सामान तथा पसलघरको ढोका लगायतका सामग्रीमा क्षति पुगेको बताए । बाढीले ल्याएको बालुवा पन्छाउन र क्षति भएका सामग्री फेर्न करिब एक लाख रुपैयाँ खर्च भएको उनको भनाइ छ । पहाडी वडाका सदस्य समेत हुन् ।
“जनप्रतिनिधि भएर पनि आफैँको कुरा गर्न अप्ठ्यारो भयो,” उनले भने, “गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित जिल्ला विपद् व्यवस्थापन समिति आएको थियो, तर कसैले हाम्रो क्षतिप्रति चासो देखाएनन्, बोलेनन् ।”
उनका अनुसार बाढीले बगाएका केही खेतको पुनर्निर्माण भने पालिकाबाट भएको थियो । तर, पसल र फर्निचर जस्ता क्षतिको विषयमा सरोकारवालाले ध्यान नदिएको उनीहरूको गुनासो छ ।
“सबै कुरा देखे पनि पालिका बाट कुनै सहयोग भएन,” अमृत मगरले भने, “हामीजस्ता साना व्यवसायीको पीडा बुझ्ने कोही छैन जस्तो लाग्छ ।” सोही समयमा वडा मार्फत पसलहरुमा भएको क्षति विवरण संकलन गरेर माथिल्लो निकायमा पठाइएको वडाअध्यक्ष प्रकाश सापकोटाले बताए ।
विपद प्रभावितले सम्बन्धीत आफ्नो पालिका बाट राहत पाउने व्यवस्था छ । ‘विपद संवेदनशील सामाजिक सुरक्षा तथा राहत मापदण्ड–२०८१’ नेपाल सरकारबाट स्वीकृत भई कार्यान्वयनमा आए सँगै स्थानिय तह बाट राहत पाउने व्यवस्था लागु भएको हो ।

प्रतिक्रिया