नागरिकता प्रतिलिपी लिनेको संख्या उच्च

भिजन समाचार
26
Shares

ओखलढुंगामा नागरिकताको प्रतिलिपी लिने बढेका छन् । चालु आर्थिक वर्षको सुरुका दुई साता नबित्दै १४६ जनाले नागरिकताको प्रतिलिपी लिएका छन् ।

जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको तथ्याङ्कअनुसार साउन १९ गतेसम्म १५२ जनाले नयाँ नागरिकता बनाएका छन् भने झन्डै त्यत्तिकै सङ्ख्याका नागरिकले पुरानो हराएको, च्यातिएको वा विवरण मेटिएको भन्दै प्रतिलिपीका लागि आवेदन दिएका हुन् ।

प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार धेरै नागरिकहरू नागरिकता प्रमाणपत्रलाई लापरवाहीपूर्वक राख्ने, भिज्ने ठाउँमा छोड्ने, जथाभावी दोबार्ने वा प्लास्टिक कभर लगाउने जस्ता कार्यका कारण विवरण मेटिएर प्रतिलिपी लिन बाध्य हुने गरेका छन् ।

सुवेदीले नागरिकता जस्तो संवेदनशील कागजातलाई स्क्यान गर्दा वा फोटोकोट गर्दा पनि विवरण हराउने सम्भावना भएकाले बनाएको तुरुन्तै कभर नलगाउन र सुरक्षित तरिकाले राख्न सुझाव दिएका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार कतिपय दिन त नयाँ नागरिकता बनाउनेभन्दा दोब्बर नागरिकले प्रतिलिपी लिने गरेका छन् ।