ओखलढुंगाको सदरमुकाममा बंगुरकाे पाठापाठीकाे व्यापार गर्दै आएका किसान र व्यापारीहरू सिद्धिचरण नगरपालिकाको उपेक्षामा परेका छन् । खसी, बाख्रा र तरकारीका लागि छुट्टै र सुरक्षित बिक्री केन्द्र व्यवस्था गरिए पनि बंगुर व्यापारीहरू सडकछेउमा खुला आकाशमुनि विक्री गर्न बाध्य छन् । हटियामा किसानहरुले बंगुरकाे पाठापाठी विक्री गर्न पाउदैनन् ।
बंगुर पालक किसानले कहाँ विक्री गर्छन् भिडियाे हेर्नुस् https://www.facebook.com/share/v/1DNRH1f2ok सिद्धिचरण नगरपालिका–३ अधेरीका मकरबहादुर राई लगायत किसानहरू बंगुरका पाठा बोकेर खुला स्थानमा घाम–पानी सहेर व्यापार गर्न बाध्य छन् । “व्यवस्थित स्थान नहुँदा व्यापार मात्र होइन, हाम्रो स्वास्थ्यमा समेत असर परेको छ,” राईले गुनासो गरे । राईका अनुसार हाट क्षेत्र नजिकै बंगुर विक्री गर्न नपाइने र बधशाला नजिकको सडक छेउमा बस्नुपर्ने बाध्यता छ ।
“पहिले कर तिथ्र्यौं, अहिले कर लाग्दैन, तर कुनै व्यवस्था पनि छैन,” उनले भने, “पटक–पटक माग गर्दा पनि नगरपालिकाले चासो देखाएको छैन ।” राईले गुनासो गरे ।
सिद्धिचरण–१० बेतीनीका बुद्धिमान विक पनि सडकमै बसेर बंगुर बेच्नुपर्ने अवस्था अत्यन्त दुःखद रहेको बताउँछन् । “हामी कर तिर्न तयार छौं, तर कम्तीमा एउटा सुरक्षित, छायाँ भएको र सरसफाइयुक्त ठाउँ होस्,” उनले माग गरे ।
मानेभञ्ज्याङ गाउँपालिका–३ उँबुका किसान दिलकुमार राईका अनुसार खुला स्थानमा बंगुर राख्दा दुर्गन्ध, संक्रमण र सरसफाइको समस्या बढिरहेको छ । “सडक किनारमै व्यापार गर्दा सवारी आवागमनमा समेत असर पुगेको छ,” उनले भने । स्थानीय किसान र व्यापारीहरूबीच समान गुनासो छ ।
सिद्धिचरण नगरपालिकाका उप–प्रमुख केदारबाबु बस्नेतले भने व्यापारीहरूको समस्या गम्भीर रूपमा लिइएको जानकारी दिए । “आन्तरिक छलफल सुरु भइसकेको छ,” उनले भने, “दीर्घकालीन समाधानतर्फ अग्रसर छौं, आवश्यक योजना बनाई चाँडै कार्यान्वयनमा लैजानेछौं ।”
नगरपालिकाले व्यापारीहरूसँग छलफल गरी सुरक्षित र व्यवस्थित व्यापार वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । तर तत्कालका लागि संरचना अभावका कारण व्यापारीहरू सडकमा हैरान भइरहेका छन् । वर्षौं देखि आर्मी ब्यारेक नजिकको भिरालो सडक छेउमा बसेर किसानहरुले बंगुरको पाठापाठी विक्री गर्न बाध्य छन् ।

प्रतिक्रिया