ओखलढुंगा । सुनकोशी गाउँपालिकाको कार्यशैलीप्रति नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गम्भिर आपत्ति जनाएका छन् । दुवै दलले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै जनप्रतिनिधिहरुको नेतृत्वमा रहेको स्थानीय सरकार अपारदर्शी, गैरजवाफदेही र शक्ति केन्द्रित भएको आरोप लगाएका हुन् ।
एमाले सुनकोशी गाउँपालिका कमिटी अध्यक्ष ईन्द्रबहादुर खड्का (सुनिल) र माओवादी केन्द्र पालिका अध्यक्ष सानु तामाङले आ–आफ्नो पार्टीको धारणा सार्वजनिक गर्दै हालको गाउँपालिका नेतृत्वले संविधान र स्थानीय सरकार सञ्चालन ऐनको मर्मविपरीत काम गर्दै आएको बताएका छन् । उनीहरूले सुशासनमाथि गम्भीर प्रश्न उठेको ठहर गरेका छन् ।
एमालेको आरोप : अपारदर्शिता, कृपावाद र स्रोतको दुरुपयोग
एमालेको विज्ञप्तिमा गाउँपालिकाको वर्तमान नेतृत्व नागरिकको आवाजप्रति संवेदनशील नरहेको, गुनासा र जिज्ञासाप्रति जवाफदेही नबनेको आरोप लगाइएको छ । विकास निर्माणमा ढिलासुस्ती, योजनाको असमान बजेट वितरण, कृपावादमा आधारित कर्मचारी सरुवा तथा स्रोत साधनको दुरुपयोग, र आलोचनालाई हतोत्साहित गर्ने प्रवृत्तिले जनप्रतिनिधिप्रति अविश्वास बढेको एमालेको ठहर छ ।
महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख भएको अनियमितता, सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत उठाइएका गम्भीर सवालहरूको जवाफ दिन स्थानीय सरकार असफल भएको भन्दै एमालेले सुशासन कायम गर्न माग गरेको छ ।
साथै एमालेले सुनकोशीमा प्रतिनिधित्व गर्ने ५ वडाध्यक्षसहित सम्पूर्ण जनप्रतिनिधिलाई असल कार्यमा सहयोग गर्न र गलत कार्यविरुद्ध खबरदारी गर्न निर्देशन दिएको छ । पार्टीले नागरिक, समाजसेवी, बुद्धिजीवी र सरोकारवालालाई मौलाउँदै गएको बेथिति र विकृतिविरुद्ध ऐक्यबद्ध भएर आवाज उठाउन आह्वान समेत गरेको छ ।
माओवादीको चेतावनी : सत्य विवरण सार्वजनिक गर
नेकपा माओवादी केन्द्रले पनि सुनकोशी गाउँपालिकाको कार्यशैलीप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । माओवादीका पालिका अध्यक्ष सानु तामाङद्वारा जारी विज्ञप्तिमा महालेखा परीक्षकको प्रतिवेदन, सञ्चारमाध्यममा आएका समाचार, सामाजिक सञ्जालमा उठेका आलोचना र जनगुनासोप्रति पालिकाले गम्भिर रूपमा लिएको देखिएन भन्ने चिन्ता व्यक्त गरिएको छ ।
माओवादीले भ्रष्टाचारविरुद्ध अडिग रहेको दाबी गर्दै, गाउँपालिकामा देखिएको बेतिथिको यथार्थ जनतासमक्ष स्पष्ट गर्न माग गरेको छ ।
दबाब बढ्दो, नेतृत्व मौन
सुनकोशी गाउँपालिकाको आर्थिक गतिविधिमाथि पछिल्लो समय चौतर्फी आलोचना भइरहेको छ । ४९ हजारको खसीमा ५८ हजार १०५ रुपैयाँको मसला प्रयोग, काजु–बदाममा लाखौंको खर्च, भ्रमण, इन्धन साथै फजुल शीर्षकमा करोडौंको खर्चलगायत विवरण सार्वजनिक भएसँगै पालिकाको नेतृत्वमाथि दबाब बढेको छ ।
दुवै दलले सुशासन र समृद्धिको पक्षमा साझा प्रतिबद्धता जनाउँदै नागरिक, बुद्धिजीवी र सरोकारवालालाई मौलाउँदै गएको बेथिति विरुद्ध आवाज उठाउन आह्वान गरेका छन् । तर, अध्यक्ष कमल तामाङ र प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्की भने प्रतिवेदनको तथ्यलाई अस्वीकार गर्दै मिडियामाथि नै ‘बार्गेनिङ’ को आरोप लगाइरहेका छन् ।

प्रतिक्रिया