ओखलढुंगामा धान रोपाइँ सम्पन्न

भिजन समाचार
62
Shares

ओखलढुंगामा यस वर्षको धान रोपाइँ कार्य पूर्ण रूपमा सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र ओखलढुंगाका अनुसार जिल्लामा धान रोपाइँ हुने सम्पूर्ण क्षेत्रफलमा साउन दोस्रो सातासम्म रोपाइँ सकिएको हो ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी इन्द्र राईका अनुसार जिल्लामा कुल तीन हजार ८०३ हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्छ । हाल ती सबै क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ । यो वर्ष असारमा केही ढिला भए पनि साउनको दोस्रो साता भित्रै रोपाइँ पूरा भएको राईले जानकारी दिए ।

जिल्लामा ५९ हजार ६६ हेक्टर कृषि योग्य जमिनमध्ये धान खेती हुने क्षेत्रफल करिब ६.५ प्रतिशत छ । केन्द्रका अनुसार गत वर्ष ओखलढुंगाबाट १० हजार २७८.१ मेट्रिक टन धान उत्पादन भएको थियो ।

यदि साउन र भदौमा पर्याप्त मात्रामा वर्षा भयो भने धान उत्पादनमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको केन्द्रले जनाएको छ । जिल्लामा लिखु, सुनकाेशी, दुधाकाेशी, माेलुङ खाेला, ठाेट्ने लगायतका नदि खाेला आसपासमा विशेषगरी धान उत्पादन हुने क्षेत्र हुन् ।