ओखलढुंगामा कोदो उत्पादन ५.२७ प्रतिशतले बढ्याे

काेदाे राेप्दै संघिय सांसद रामहरि खतिवडा ।

ओखलढुंगामा आर्थिक वर्ष २०८१/८२ मा कोदो उत्पादनमा अघिल्लो वर्षको तुलनामा ५.२७ प्रतिशतले वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र ओखलढुंगाका अनुसार गत वर्षको तुलनामा उत्पादनमा वृद्धि भए पनि समग्र रूपमा भने कोदो उत्पादनमा घट्दो प्रवृत्ति कायम रहेको देखिएको छ ।

बागबानी विकास अधिकृत टिका बानियाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लाको ७ हजार ७५१ हेक्टर क्षेत्रफलमा १३ हजार १७६ दशमलव ७ मेट्रिक टन कोदो उत्पादन भएको हो । अघिल्लो आर्थिक वर्षमा सोही क्षेत्रफलबाट १२ हजार ५१७ मेट्रिक टन मात्र उत्पादन भएको थियो ।

तर, आर्थिक वर्ष २०७९/८० मा भने सोही क्षेत्रफलमा १९ हजार ३७८ मेट्रिक टन कोदो उत्पादन भएको तथ्याङ्क छ । सोही आधारमा हेर्दा पछिल्लो दुई वर्षमा कोदो उत्पादन झण्डै ६ हजार ८६१ मेट्रिक टनले घटेको देखिन्छ । यद्यपि, कोदो खेती गरिने क्षेत्रफल भने झन्डै स्थिर छ ।

बानियाका अनुसार उत्पादन वृद्धिको पछाडि अनुकूल मौसम, कृषकको निरन्तर मेहनत र परम्परागत खेती प्रविधिको निरन्तरता मुख्य कारक हुन् । हाल जिल्लामा कोदोको बजार मूल्य प्रतिकिलो ५५ देखि ६० रुपैयाँसम्म कायम छ ।

जिल्लामा उत्पादित कोदो मुख्यतः स्थानीय उपभोगमै सीमित रहने गरेको कृषि ज्ञान केन्द्रको भनाइ छ । व्यावसायिक रूपमा अन्यत्र निर्यात हुने क्रम न्यून रहेको छ । अधिकांश किसानले परम्परागत विधिबाट कोदोको उपयोग गर्दै आएका छन् ।

मकै, फापर, जौ र गहुँजस्ता अन्य खाद्यान्न बालीको उत्पादनमा समेत पछिल्ला वर्षहरूमा गिरावट आएको तथ्याङ्कले देखाएको छ । पछिल्लो समय कोदो र कोदोको परिकारको माग बढ्दो क्रममा रहेको छ । चालु आर्थिक वर्षमा सिद्धिचरण नगरपालिकाले कोदो लगायत रैथाने बालिबाट स्थानिय मदिरा बनाउने निति लिएको छ ।