ओखलढुंगाको सुनकोशी गाउँपालिका–१ बलखु निवासी डा. खिला सापकोटालाई सापकोटा कल्याण केन्द्र ओखलढुंगाले विशेष सम्मान प्रदान गरेको छ । सापकोटा कुलबाट जिल्लाकै पहिलो विद्यावारिधी (phd) उपाधि प्राप्त गरेका डा. सापकोटालाई प्रेरणादायी व्यक्तित्वका रूपमा सम्मान गरिएको हो ।
सम्मान कार्यक्रम काठमाण्डौमा आयोजना गरिएको थियो । जसको प्रमुख आतिथ्य सापकोटा कल्याण केन्द्रका केन्द्रीय सभापति डा. कविन्द्र प्रसाद शर्मा सापकोटाले गरेका थिए । कार्यक्रममा केन्द्र तथा जिल्ला तहका पदाधिकारीहरू, नेपाली कांग्रेस कोशी प्रदेश समिति सदस्य कुमार लुईटेल, वडाध्यक्ष प्रकाश सापकोटा, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू र समाजसेवीहरूको उपस्थिति रहेको थियो ।
ओखलढुंगाको सापकोटा समुदायबाट विद्यावारिधी उपाधि हासिल गर्ने डा. सापकोटा पहिलो व्यक्ति हुन् । सम्पूर्ण सापकोटा समुदाय र जिल्लाबासीका लागि प्रेरणाको स्रोत भएकाले उहाँलाई सम्मान गरिएको सापकोटा कल्याण केन्द्र ओखलढुंगा सभापति रेवतीरमण सापकोटाले बताए ।
डा. सापकोटाले Practice of right to information on local governance शीर्षकमा पीएचडी गरेका छन् । विभिन्न शैक्षिक संस्थाको नेतृत्व गरेका डा. सापकोटा हाल त्रिभुवन विश्वविद्यालयमा सहायक प्राध्यापकको रूपमा कार्यरत छन् ।
कार्यक्रममा उहाँको शैक्षिक योगदान, अनुसन्धानात्मक क्षमता र समाजप्रति गरिएको समर्पणको उच्च प्रशंसा गरिएको थियो ।


प्रतिक्रिया