सुनकोशीमा फजुल खर्चमै सकियाे ९७ लाख

लाखौं भ्रमण भत्ता लिएर कहाँ घुम्छन् जनप्रतिनिधि र कर्मचारी ?

भिजन समाचार
1.5k
Shares

ओखलढुंगाको सुनकोशी गाउँपालिकाले १ वर्षमा करिब १ करोड रकम मसलन्द, मर्मत, इन्धन, भ्रमण र खाना,खाजालगायतका विविध शिर्षकमा खर्च गरेको छ । आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन विपरित सुनकोशीले खर्चमा मितव्ययिता नअपनाई वार्षिक करोडौं रकम विविध शिर्षकमा भुक्तानी गरेको हो ।

आर्थिक कार्यविधि तथा वितीय उत्तरदायित्व ऐन, २०७६ को दफा २४ को उपदफा २ मा सरकारी रकम खर्च गर्दा साधन स्रोतको उच्चतम प्रतिफल प्राप्तहुने र प्राप्त प्रतिफलको उचित गुणस्तर समेत कायम हुने गरी मितव्ययी तरिकाले खर्च गर्नुपर्ने उल्लेख छ । तर सुनकोशी गाउँपालिकाले उक्त ऐन विपरित आर्थिक वर्ष २०८०-०८१ को १ वर्षमा ९६ लाख, ९८ हजार ४४९ रुपैंया रकम आर्थिक मितव्ययीता नअपनाइ खर्च गरेको छ ।

सुनकोशीले ३० लाख रकम मसलन्द तथा कार्यालय सञ्चालनमा खर्च गरेको छ । यो रकम मासिक २ लाख ५० हजारका दरले खर्च भएको देखाइएको छ ।

१३ लाख ९८ हजार १७४ रुपैंया रकम ईन्धनमा खर्च गरेको सुनकोशीका कर्मचारी र जनप्रतिनिधिले भ्रमण खर्च वापत २२ लाख ८३ हजार ६३८ रुपैंया सरकारी रकम बुझेका छन् । १ वर्षमा सुनकोशीको सवारी मर्मतमा १७ लाख ४५ हजार ९९२ रुपैंया खर्च भएको छ । सोही आर्थिक वर्षमा खाना, खाजा, सभासञ्चालन लगायतका विविध शिर्षकमा १२ लाख ७० हजार ६४५ रुपैंया खर्च गरको छ ।

यो खर्चलाई मलेपले त्रुटीका रुपमा औल्याएको छ । कतिपय खर्च शिर्षकको प्रयोजन नखुल्दा कार्यालय प्रयोजनकै लागि खर्च भएको भन्ने स्पष्ट आधार नदेखिएको भनेको मलेपले सुनकोशीले खर्चमा मितव्ययीता अपनाएको ठहर गर्दै खर्चमा मितव्ययीता अपनाउन सुझाव दिएको छ ।

मलेपले प्रतिवेदनमा अधिकांश भ्रमणको उद्देश्य र स्पष्ट प्रयोजन कार्यालयकै कामका लागि भएको हो भनी सुनिश्चित हुने विश्वसनीय आधार नदेखिएको, भ्रमण अभिलेख नराखेको, भ्रमण प्रतिवेदन पेस नगरी भ्रमण खर्च भुक्तानी दिने गरेको र पदाधिकारीले समेत स्पष्ट प्रयोजन बेगर पदाधिकारीको ७ दिनको भ्रमण आदेश स्वीकृत गरी भुक्तानी गर्ने गरेको जस्ता त्रुटी देखाएको मलेपले भ्रमण खर्चमा हुन सक्ने अनियमितता र दुरुपयोग रोक्न भ्रमण आदेश स्वीकृत गर्ने पदाधिकारीले ध्यान दिनुपर्ने सुझाव दिएको छ ।

सुनकोशीले आर्थिक वर्ष २०८९-०८० मा भ्रमण भक्ता वापत ४० लाख ५७ हजार ५६२ रुपैंया खर्च गरेको थियो । मलेपले उक्त खर्च माथि प्रश्न उठाउँदै सैद्धान्तीक बेरुजु भनेको थियो ।

भाषण गर्दा जनसेवामा निश्वार्थ लागेको दावी गर्ने जनप्रतिनिधिले जनताको कामका लागि खट्दा र मतदाताका बीचमा जाँदा पनि कार्यालयबाट भ्रमणभत्ता बुझ्ने र कार्यालय समयमै कर्तव्य पालना गरिरहेका कर्मचारीहरुले समेत भ्रमण भत्ताका नाममा मोटो रकम लिने गरेको पाइएको छ ।

स्पष्ट प्रयोजन र कारण नदेखाइ प्रतिवेदन समेत नराखी कार्यालयबाट लाखौं रकम भ्रमणभत्ता लिएर सुनकोशीका जनप्रतिनिधि र कर्मचारी कहाँ घुम्छन् ? भन्ने गरी मलेपले प्रश्न गरेको छ ।