ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ स्थित नारायणस्थान जंगलेका बासिन्दाको घरघरमा खानेपानीको सुविधा पुगेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा ओखलढुंगा, सिद्धिचरण नगरपालिका र स्थानीयको जनश्रमदान बाट गाउँका ४८ घरधुरीमा खानेपानी पु–याइएको हो ।
रेडक्रसको २१ लाख ७७ हजार ८९३ रुपैयाँ, सिद्धिचरण नगरपालिकाको सात लाख ५५ हजार १०६ रुपैयाँ र स्थानीयवासीको जनश्रमदानमा १० लाख १२ हजार २५२ रुपैयाँ बराबरको योगदान रहेको रेडक्रस जिल्ला सभापति नारायणप्रसाद दाहालले जानकारी दिए ।
कुल ३९ लाख ४५ हजार २५२ रुपैयाँ २३ पैसामा आयोजना सम्पन्न भएको हो । सो आयोजनाबाट ४८ वटा घरधुरी र तीन वटा विद्यालयमा खानेपानी सेवा विस्तार गरिएको रेडक्रस जिल्ला शाखाले जनाएको छ ।
यसअघि स्रोतको अभावले खानेपानीका लागि धेरै कठिनाइ भोग्दै आएका स्थानीय अब सहज भएको अनुभव सुनाउँछन् । एक कार्यक्रमको आयोजना गरेर खानेपानी आयोजनाको उद्घाटन गरिएको छ ।
खानेपानी आयोजना हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा सिद्धिचरण नगरपालिकाका प्रमुख तेजन खनाल, उपप्रमुख केदारबाबु बस्नेत, चिशंखुगढी गाउँपालिकाका उपाध्यक्ष सन्तोषबाबु थापा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान न्यौपाने, नेपाल रेडक्रस सोसाइटीका निर्देशक पूजा कोईराला, सभापति नारायणप्रसाद दाहाल, विभिन्न जनप्रतिनिधि तथा स्थानीयवासीको उपस्थिति रहेको थियो । जंगले र असिने मुहान बाट खानेपानी ल्याईएको स्थानियले जानकारी दिएका छन् ।

प्रतिक्रिया