ओखलढुंगामा सवारी दुर्घटनाको संख्या अघिल्ला वर्षहरूभन्दा बढे पनि ज्यान गुमाउनेको संख्या भने घटेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
कार्यालयका अनुसार एक आर्थिक वर्ष २०८१/०८२ मा ६६ वटा सवारी दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । ती मध्ये दुई पुरुष र दुई महिला छन् । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् भने ७९ जना सामान्य घाइते भएका छन् ।
यसअघि आर्थिक वर्ष २०८०/०८१ मा ६३ सवारी दुर्घटनामा सात जनाले ज्यान गुमाएका थिए । त्यसमध्ये छ पुरुष र एक महिला थिए । उक्त वर्ष १९ जना गम्भीर घाइते र ७६ जना सामान्य घाइते भएका थिए ।
त्यस्तै २०७९/०८० मा २९ वटा दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो । तीमध्ये चार पुरुष र एक महिला थिए । १७ जना गम्भीर घाइते र ४३ जना सामान्य घाइते भएका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक हवल्दार नारायण बहादुर बस्नेतका अनुसार पछिल्लो वर्ष सवारी दुर्घटनाको संख्या तिव्र रूपमा बढे पनि ज्यान गुमाउनेको संख्या घटेको छ । बस्नेतका अनुसार सवारी चाप, ट्राफिक नियमको उल्लङ्घन, चालकको लापरवाही र सडकको कमजोर अवस्थाले दुर्घटनाको जोखिम बढाएको छ ।
तथ्यांक अनुसार ३७ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । त्यसपछि कार-जिप १६, ट्रक ४, ट्रिपर २, बस २, टेम्पु १ र अन्य १ वटा सवारी दुर्घटनामा परेका छन् । तीन आर्थिक वर्षको तुलना गर्दा जिल्लामा सवारी दुर्घटनामा मोटरसाइकलको संलग्नता अत्यधिक रहेको देखिन्छ ।
दुर्घटना न्यूनीकरणका लागि ओखलढुंगा ट्राफिक प्रहरीले जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा विद्यार्थी, पैदलयात्री, यात्रु, व्यवसायी, सर्वसाधारण र चालकलाई लक्षित गर्दै १५ हजार ८२८ जनालाई जनचेतना कक्षा सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।
त्यस्तै, सिद्धिचरण लोकमार्गको भित्री र बाहिरी सडक खण्डका विभिन्न स्थानमा ८५ वटा सचेतना बोर्ड र १५ वटा कन्भेक्स मिरर जडान गरिएको छ । ट्राफिक नियमको पालना, सडक पूर्वाधारको सुधार र निरन्तर जनचेतना कार्यक्रम मार्फत मात्रै सवारी दुर्घटनामा कमी ल्याउन सकिने प्रहरीको भनाई छ ।

प्रतिक्रिया