चैते धान खेती क्षेत्र ९८ प्रतिशतले घट्यो

तस्वीर-एआइ

ओखलढुंगामा परम्परागत रूपमा लगाइँदै आएको चैते धान संकटमा परेको छ । सिंचाइको अभाव, मौसमको अनिश्चितता र जनशक्ति पलायनले जनशक्ति कम हुँदा किसानहरूले चैते धान खेती छाड्न थालेका छन् ।

कृषि ज्ञान केन्द्र ओखलढुंगाका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा चैते धान खेती क्षेत्रफल २४५ हेक्टरबाट घटेर ५ हेक्टरमा सीमित भएको छ । यो अघिल्लो वर्षको तुलनामा ९८.३६ प्रतिशतको गिरावट हो ।

कृषि ज्ञान केन्द्रका बागबानी विकास अधिकृत टिका बानियाका अनुसार असिना पानी, वर्षा अभाव र असमय वर्षाले चैते धानको बाली असफल हुने सम्भावना धेरै हुने भएकाले किसानले जोखिम लिन छाडेका हुन् ।

जिल्लाको सिद्धिचरण नगरपालिका, मोलुङ, मानेभञ्ज्याङ, लिखु र चम्पादेवी गाउँपालिकाको केही सीमित क्षेत्रमै अहिले पनि अलि–अलि मात्रामा चैते धान लगाइने गरिएको छ । तर ती क्षेत्रहरूमा पनि स्थायीत्व छैन ।

यता वर्षे धानको उत्पादन भने बढ्दो छ । कृषि ज्ञान केन्द्रका अनुसार गत वर्षको तुलनामा वर्षे धान उत्पादन ८.१० प्रतिशतले बढेको छ ।