शारीरिक रुपमा पूर्ण अपांगता भएका सिद्धिचरण नगरपालिका–४ रुम्जाटारका एक युवालाई जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले घरमै पुगेर नागरिकता प्रदान गरेको छ ।
शारीरिक रूपमा हलचल गर्न नसक्ने २८ वर्षीय उज्जल गुरुङलाई प्रशासनको टोलीले उनको घरमै पुगेर नागरिकता दिएको हो ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अनुप पौडेलका अनुसार, अपांगता भएका नागरिक नागरिकताको अधिकारबाट बञ्चित नहुन् भन्ने उद्देश्यले घरमै पुगेर नागरिकता प्रदान गरिएको हो ।
शारीरिक अशक्तताको कारण प्रशासन कार्यालय आउन नसक्ने भएपछि उज्जलका बुबा चित्र कुमार गुरुङले प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीलाई निवेदन दिएका थिए । त्यसपछि सुवेदीको समन्वयमा प्रशासकीय अधिकृत पौडेलसहित चार सदस्यीय टोली आवश्यक कागजात तथा सामग्रीसहित उज्जलको घरमै पुगेको थियो ।
“अति अशक्त अपांगता भएका व्यक्तिलाई कार्यालयसम्म आउन सक्ने अवस्था हुँदैन,” प्रशासकीय अधिकृत पौडेलले भने, “उहाँहरू उमेर पुग्दासमेत नागरिकता नपाएर सामाजिक सुरक्षासहितका सेवा–सुविधाबाट वञ्चित हुने अवस्था आउन सक्छ, त्यसैले यस्तो पहल गरिएको हो ।”
जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका अनुसार, वडा तथा परिवारको समन्वयमा अति अशक्त अपांगता भएका नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गर्न सकिने व्यवस्था गरिएको छ ।
यस कदमले अपांगता भएका नागरिकको नागरिकताको अधिकार सुनिश्चित गर्दै सामाजिक सुरक्षा सेवामा पहुँच विस्तारमा सघाउने विश्वास लिइएको छ ।

प्रतिक्रिया