विदेश गएका ओखलढुंगाका चार युवा आत्महत्याबाट अस्ताए

सांकेतिक तस्वीर ।

परिवार पाल्न, सन्तानलाई राम्रो शिक्षादीक्षा दिन र आर्थिक अभाव मेटाउन वैदेशिक रोजगारीमा गएका ओखलढुंगाका चार युवाले विदेशमै आत्महत्याको बाटो रोजेका छन् ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत ओखलढुंगास्थित आप्रवासी स्रोत केन्द्रकी परामर्शकर्ता राधा बस्नेतका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा चार युवाले विदेशमै ज्यान गुमाएका छन् । “चारै जनाको मृत्यु प्रारम्भिक रुपमा आत्महत्या भएको देखिएको छ,” बस्नेतले भनिन्, “अत्याधिक श्रमको चाप, मानसिक तनाव, एक्लोपन र सामाजिक दवाब यस्ता घटनाको प्रमुख कारण हुनसक्छ ।”

मृतकमध्ये तीन जना सिद्धिचरण नगरपालिकाका र एक जना चिशंखुगढी गाउँपालिकाका रहेका छन् ।

सिद्धिचरण नगरपालिका–४, चार्खुका ४१ वर्षीय पञ्चकुमार दर्जी सात वर्षदेखि कतारमा कार्यरत थिए । सात वर्षपछि उनी मृत भेटिए । उनको शव ११ दिनपछि नेपाल ल्याइएको थियो ।

त्यसैगरी, चिशंखुगढी गाउँपालिका–५, सेर्नाका ३१ वर्षीय इन्द्रबहादुर बस्नेत ओमान पुगेको ४५ दिनमै मृत भेटिए । सिद्धिचरण नगरपालिका–२ का ३२ वर्षीय अर्जुन कार्की साउदी अरब गएका एक महिनामै मृत अवस्थामा फेला परे ।

सिद्धिचरण नगरपालिका–५, वर्णलुका ३४ वर्षीय राकेश राई मलेसियामा १० वर्षदेखि कार्यरत थिए । उनको पनि मृत्युको कारण आत्महत्या नै भएको प्रारम्भिक रिपोर्टले देखाएको छ ।

“श्रमिकहरू विदेश गएपछि कामको चाप, घर परिवारको झन्झट, आर्थिक अपेक्षा र भावनात्मक दबाबबीच एक्लिएका हुन्छन्,” परामर्शकर्ता बस्नेतले भनिन्, “यो अवस्थामा मनोसामाजिक परामर्श र पूर्वतयारी आवश्यक हुन्छ ।”

ओखलढुंगाबाट गत आर्थिक वर्षमा मात्रै ४ हजार ८७६ जना युवा वैदेशिक रोजगारीका लागि गएका थिए । तीमध्ये चार जनाले आत्महत्या गरेका छन् भने दुई जना अंगभंग हुने गरी घाइते भएको तथ्यांक स्रोत केन्द्रले जनाएको छ ।

विशेषज्ञहरूका अनुसार वैदेशिक रोजगारीमा जानुअघि आवश्यक पूर्वतयारी, मानसिक स्वास्थ्यसम्बन्धी जानकारी, परामर्श र कामको प्रकृतिबारे स्पष्ट बुझाइ भए यस्ता घटनामा कमी ल्याउन सकिन्छ ।