पहिरे खोलामा पक्की पुल बन्ने निश्चीतः वर्षौँको पिरलो अन्त्य हुने संकेत

भिजन समाचार
76
Shares
माेलुङकाे पहिरे खाेलाकाे पहिराे

ओखलढुंगाको चर्चित पहिरे खोलामा दुई वर्ष भित्र पक्की पुल बन्ने पक्का भएको छ । भौतिक पूर्वाधार विकास कार्यालय ओखलढुंगा र यती निर्माण सेवा सोलु दुधकुण्ड नगरपालिका–५, सल्लेरीबीच सोमबार औपचारिक रूपमा ठेक्का सम्झौता सम्पन्न भए सँगै पहिरे खोलामा पक्की पुल बन्ने निश्चीत भएको हो ।

कार्यालय प्रमुख गंगा सागर यादव र निर्माण कम्पनीका प्रतिनिधि आङ दावा शेर्पाबीच हस्ताक्षर भएको उक्त सम्झौता अनुसार अबको दुई वर्षभित्र ४० मिटर लम्बाइ र ८.४ मिटर चौडाइको मोटरेबल पक्की पुल निर्माण हुनेछ । कुल लागत करिब ३ करोड ७२ लाख ६६ हजार रुपैयाँ (भ्याटसहित)मा सम्झाैता गरिएको छ ।

हाल वर्खाको समय भएकाले निर्माण कार्य कार्तिक महिनाबाट सुरु गरिने जनाइएको छ । पुलको काम सुरु हुनेबित्तिकै पहिरो नियन्त्रण सम्बन्धी कार्य समेत एकैसाथ अघि बढाइने प्रमुख यादवले बताए ।

कोशी प्रदेश सरकारले पुल निर्माणका लागि ५ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । पक्की पुल निर्माण सँगै आसपासका जिल्ला सदरमुकाम देखी पश्चीम भेगका स्थानीय तहका नागरिकलाई सुरक्षित र सहज यातायात सेवा पुग्ने अपेक्षा गरिएको छ ।

दशकौँदेखि अस्थायी र जोखिमपूर्ण यात्रा गर्दै आएका सर्वसाधारणका लागि यो पुल निर्माण एक ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ । पहिरे खोलाले बर्खाको समयमा नागरिकलाई सास्ती दिने गरेको छ ।

यद्यपि, निर्माणको क्रममा देखिने ढिलासुस्ती, प्राविधिक चुनौती तथा पर्यावरणीय जोखिम समाधान गर्न सम्बन्धित निकायहरू समयमै सक्रिय हुन आवश्यक देखिन्छ । उक्त पुल निर्माणकाे याेजना पार्न संघ, प्रदेशका सांसद साथै स्थानिय सरकाकार सँग नागरिकहरुबाट बारम्बार माग भईरहेकाे थियाे ।