अभिलेख व्यवस्थापनमा उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगाले उदाहरणीय काम गरेको छ । इजलासले हालसम्म दर्ता भएका सबै मुद्धाका अभिलेखहरू स्क्यान गरेर सतप्रतिशत डिजिटल प्रणालीमा प्रविष्टि गरिसकेको छ ।
रजिष्ट्रार विष्णु प्रसाद पाण्डेका अनुसार अदालतमा अहिलेसम्म चार हजार ५३९ मुद्धा दर्ता भएका छन् । ती सबै मुद्धाको अभिलेख स्क्यान गरी सफ्टवेयरमा इन्ट्री गर्ने काम पूरा भइसकेको छ ।
आर्थिक वर्ष २०८१/०८२ लाई ‘अभिलेख व्यवस्थापन वर्ष’को रूपमा लिएर काम अघि बढाइएको थियो । सोही लक्ष्य अनुसार सतप्रतिशत मुद्धा डिजिटाइज गर्न सफल अदालत ओखलढुंगा देशकै पहिलो उच्च अदालत भएको पाण्डेले बताएका छन् ।
पुस्तौँसम्म सुरक्षित रहनुपर्ने मुद्धाका अभिलेखहरूलाई डिजिटल बनाउनु आवश्यक भएकाले अदालतको सेवा विश्वसनीय र प्रविधिमैत्री बनाउन पनि यो महत्वपूर्ण काम गरिएको पाण्डेको भनाई छ ।
रजिष्ट्रार पाण्डेका अनुसार मातहतका अदालतहरूलाई पनि अभिलेख डिजिटाइज गर्न निर्देशन दिइएको छ । सोही अनुसार ओखलढुंगा जिल्ला अदालतले कुल मुद्धामध्ये ५४.१६ प्रतिशत ९ हजार ७५० मुद्धा, खोटाङले ५९.७६ प्रतिशत १३ हजार ४०० मुद्धा र सोलुखुम्बुले ९४.१३ प्रतिशत ६ हजार २१३ मुद्धा डिजिटाइज गरिसकेका छन् ।
उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगाले न्याय सम्पादन छिटो, छरितो, व्यवस्थित र विश्वासिलो बनाउन तथा अदालतको सेवा नागरिकमैत्री बनाउने उद्देश्यसहित यस्तो कार्यसम्पादन गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया