ओखलढुंगा पशुपालनमा आत्मनिर्भर

वडा कार्यालय मार्फत मानेभञ्ज्याङकाे हर्कपुरमा गरिएकाे भैंसी पालन

ओखलढुंगा जिल्लाले पशुपालन क्षेत्रमै ५५ करोडभन्दा बढीको उत्पादन गर्न सफल भएपछि कृषिमा आधारित ग्रामीण अर्थतन्त्र बलियो बन्दै गएको संकेत देखिएको छ । आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभरि करिब ५५ करोड ४३ लाख रुपैयाँ बराबरको दुध, मासु, अण्डा र ऊन उत्पादन भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुंगाले जनाएको छ ।

पशुपालन व्यवसायमा जिल्लाको आत्मनिर्भरता बढ्दै गएको देखिन्छ । केन्द्रका सूचना अधिकारी धिरेन राईका अनुसार, जिल्लामा दुध उत्पादन मात्रै १७ हजार ३९३ मेट्रिक टन पुगेको छ । मासु पाँच हजार ४२८.१३ मेट्रिक टन उत्पादन भएको छ । त्यस्तै, अण्डा एक लाख ३९ हजार ७०० वटा र ऊन पाँच हजार ६५० किलोग्राम उत्पादन भएको छ ।

जिल्लामा दुधालु गाई १५ हजार ४० वटा र दुधालु भैँसी १० हजार ६५२ वटा रहेका छन् । यी पशुहरूबाट क्रमशः ५ हजार ७९१ र ११ हजार ६०२ मेट्रिक टन दुध उत्पादन भएको हो ।

उत्पादन बढे पनि बजार व्यवस्थापन अझै चुनौतीपूर्ण अवस्थामा छ । हाल जिल्लाबाट मासु काठमाडौं, सिराहा लगायतका जिल्लामा निर्यात हुने सूचना अधिकारी राईले बताए । बजार पूर्वाधार, चिस्यान केन्द्र, दुग्ध सङ्कलन केन्द्र विस्तार र पशु स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउन सके यो क्षेत्र ग्रामीण समृद्धिको आधार बन्न सक्ने जानकारहरुको भनाई छ ।