विपद् व्यवस्थापनमा मोलुङको बेफिक्री

भिजन समाचार
398
Shares
माेलुङकाे पहिरे खाेलाकाे पहिराे

विपद् व्यवस्थापनमा गम्भीर हुनुपर्ने बेला मोलुङ गाउँपालिका भने जेसिबी लगायतका आवश्यक उपकरण नै तयारी नराखेर जोखिम बेवास्ता गरेको खुलेको छ । जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले मोलुङ गाउँपालिकाको बेवास्ता पुष्टि गर्दै भने, “हामीले सबै पालिकासँग बैठकको निर्णय कार्यान्वयन गर्न आग्रह गरेका थियौँ । मोलुङबाहेक सबैले सकारात्मक रूपमा अघि बढिरहेका छन् ।”

असार १३ गते जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले मनसुनजन्य विपद् रोकथाम तथा तत्काल राहत तथा उद्धारको लागि स्पष्ट योजना सहित निर्णय गरे पनि मोलुङ गाउँपालिकाले उक्त निर्णय कार्यान्वयन नगरेको पुष्टि भएको हो ।

बैठकले स्काईभेटर, जेसिबी जस्ता बाटोको अवरोध हटाउने उपकरण असारदेखि भदौसम्म तयारी अवस्थामा राख्न सबै पालिकालाई निर्देशन दिएको थियो । तर मोलुङ गाउँपालिका अध्यक्ष उत्तम राईले “अहिले नै उपकरण भाडामा लिने वा खरिद गर्ने योजना छैन” भनी खुलेरै उदासिनता देखाएका छन् ।

समान प्रकृतिको जोखिम सामना गरिरहेका अन्य सात स्थानीय तह सिद्धिचरण नगरपालिका, मानेभञ्ज्याङ, चम्पादेवी, सुनकोशी, लिखु, खिजीदेम्बा र चिशंखुगढी गाउँपालिकाले भने यथासमय उपकरण तयारी राख्दै कार्यान्वयन थालेको बताएका छन् ।

विशेष गरी पहिरे खोलाजस्ता संवेदनशील क्षेत्र रहेको मोलुङमा समयमै प्रबन्ध नगरे विपद् नटारिने चिन्ता बढ्दै गएको छ । हाल पहिरे खोलामा अवरोध भैहाले सिद्धिचरण नगरपालिका लगायतको उपकरण प्रयोग हुने गरेको छ । विपद् व्यवस्थापनका लागि पुर्व तयारी, राहत र पुन: स्थापनामा जाेड दिन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेकाे छ ।