ओखलढुंगाकाे सिद्धिचरण नगरपालिका–११ मिलनचोकमा बुधबार साँझ मोटरसाइकलको ठक्करबाट घाइते भएकी बालिकालाई उपचारका लागि काठमाण्डौ पठाईएको छ । उनको थप उपचारका लागि हेलिकप्टरमार्फत सिएमसी अस्पताल काठमाडौं लगिएको छ ।
बा ८३ प ८४८१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका–४ काँकु घर भई हाल मिलनचोकमा बस्दै आएका टकेराज राईकी ४ वर्षीया छोरी रियासा राई घाइते भएकी थिइन् ।
दुर्घटनापछि बालिकालाई तत्काल उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो । बालिकाको टाउको, कम्मर र घुँडामा चोट लागेको छ, भने शरीरका अन्य भागमा मध्यम चोट लागेको छ । अवस्था समान्य रहेको ओखलढुंगा सामुदायिक अस्पतालले जनाएको छ ।
बालिकाको परिवारजनको आग्रहपछि थप उपचारका लागि बिहीबार बिहान हेलिकप्टर मार्फत काठमाडौंस्थित सिएमसी अस्पताल लगिएको हो ।
दुर्घटनामा संलग्न मोटरसाइकल चालक चिसंखुगढी गाउँपालिका–७ निवासी २१ वर्षीय सबिन राईलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।
मोटरसाइकल र चालक दुवैलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया