मापसे चेकजाँचमा अनौठो शैली, मेयर र प्रमुख जिल्ला अधिकारी सडकमा


ओखलढुंगामा बुधबार मापसे चेकजाँच एक अनौठो तरिकाले भयो । ट्राफिक प्रहरी नभई, सिद्धिचरण नगरपालिकाका मयेर र प्रमुख जिल्ला अधिकारी आफैं सडकमा उत्रिएर सवारी चालकको सास परीक्षण गरे ।

सोलुखुम्बुबाट आउँदै गरेको एक गाडीलाई सिद्धिचरण नगरपालिका–११ रमाइलो डाँडामा रोक्दै नगर प्रमुख तेजेन्द्र खनालले हातमा ब्रेथलाइजर लिएर चालक दिपक श्रेष्ठलाई सास फुक्न आग्रह गरे । मेसिनले “अल्कोहल नट डिटेक्टेड” देखाएपछि मेयरले चालकलाई धन्यवाद दिँदै सदैव जिम्मेवार भएर गाडी चलाउन अनुरोध गरे ।

त्यसैगरी, मिलनचोकबाट आउँदै गरेको एक स्कुटरलाई प्रमुख जिल्ला अधिकारी विजय राज सुवेदीले रोकेर चालक युवन राईको मापसे परीक्षण गरे । सो परीक्षणमा पनि मादक पदार्थको कुनै संकेत देखिएन ।

यी चेकजाँचहरू सिद्धिचरण नगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई नयाँ ब्रेथलाइजर हस्तान्तरण गर्ने कार्यक्रमको अवसरमा गरिएको हो । चेकजाँच पश्चात मयेर खनालले प्रमुख जिल्ला अधिकारी सुवेदी र प्रहरी नायव उपरीक्षक मदन केसी तथा ट्राफिक प्रमुख लेखनाथ खनाललाई ब्रेथलाइजर मेसिन हस्तान्तरण गरिएको थियो ।

नगरपालिकाले एक लाख ४९ हजार ५०० रुपैयाँमा आधुनिक ब्रेथलाइजर खरिद गरी प्रदान गरेको हो । ट्राफिक सप्ताहको उद्घाटनकै दिन प्रमुख जिल्ला अधिकारीले औपचारिक रूपमा मेसिनको आवश्यकता उठाएपछि नगरपालिकाले व्यवस्था गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख खनालका अनुसार, अब मापसे चेकजाँच थप प्रभावकारी र नियमित हुनेछ । मापसेका कारण दुर्घटनाको जोखिम बढ्ने भएकाले यो अभियानले सडक सुरक्षा र जनचेतना दुवैमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ ।