ओखलढुंगा–सोलुखुम्बुमा प्रधानमन्त्री कृषि परियोजनाका कार्यक्रमको संयुक्त अनुगमन

भिजन समाचार
66
Shares

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई ओखलढुंगाको समन्वयमा ओखलढुंगा र सोलुखुम्बु जिल्लामा सञ्चालित कृषि योजनाहरुको संयुक्त अनुगमन सम्पन्न गरिएको छ । आर्थिक वर्ष २०८१÷८२ मा सञ्चालनमा रहेका योजनाहरुको मूल्यांकन गर्न गरिएको उक्त संयुक्त अनुगमन जिल्ला समन्वय समिति (जिसस) ओखलढुंगाका प्रमुख टेकराज भट्टराई र सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाको नेतृत्वमा सम्पन्न भएको हो ।

अनुगमन टोलीले ओखलढुंगाको सिद्धिचरण नगरपालिका–७ मा निर्माण गरिएको आलु रष्टिक स्टोर, सोही वडाको टोड्केमा निर्माण गरिएको आलु बिऊ भण्डारण केन्द्र तथा साना सिँचाइ पोखरीहरुको अवलोकन गरेको थियो । सोलुखुम्बु जिल्लामा सोलुदुधकुण्ड नगरपालिका–८ मा रहेको एभ्रेष्ट एग्रो रिसर्च प्रालिको स्याउ फर्म, वडा नं. ११ को लालिगुँरास कृषक समूह र वडा नं. ७ को नव हिउँदे फलफूल कृषि फर्मको पनि स्थलगत अवलोकन गरिएको थियो ।

अनुगमनपछि संयोजक टेकराज भट्टराईले लाभग्राही समूहहरुबाट उत्कृष्ट कार्यहरु भएको निष्कर्ष प्रस्तुत गरेका छन् । उनले कृषक समूहहरुले देखाएको सक्रियता प्रशंसनीय रहेको उल्लेख गर्दै अझ प्रभावकारी बनाउन सरकारी तथा गैरसरकारी पक्षबीच सहकार्य आवश्यक रहेको धारणा राखे ।

त्यस्तै जिसस सोलुखुम्बुका प्रमुख निरौलाले कृषि र कृषकलाई सशक्त बनाउन सकेमा मात्रै समृद्ध नेपाल निर्माण सम्भव हुने धारणा बताए ।

संयुक्त अनुगमनमा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे, ओखलढुंगाकी सहायक प्रमुख जिल्ला अधिकारी गोमादेवी ढकाल, सिद्धिचरण नगरपालिकाका उपप्रमुख केदारबाबु बस्नेत, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, सञ्चारकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

अनुगमन टोलीको प्रत्यक्ष अवलोकनले परियोजनाबाट सञ्चालित कार्यक्रमहरुमा सुधार र सशक्तिकरणका लागि महत्वपूर्ण सुझाव र मार्गदर्शन प्राप्त भएको परियोजना कार्यान्वयन एकाई ओखलढुंगाका प्रमुख हेम आलेले बताएका छन् ।