ओखलढुंगामा सम्बन्धविच्छेद गर्ने संख्या बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा मात्रै सम्बन्ध विच्छेदका १४४ वटा मुद्दा जिल्ला अदालतमा दर्ता भएका छन् ।
ओखलढुंगा जिल्ला अदालतका सूचना अधिकारी प्रमोद रिजालका अनुसार गत आर्थिक वर्षभर ११८ वटा मात्र सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । अहिले भने ११ महिनामै यो संख्या १४४ पुगेको छ ।
अधिकारीका अनुसार दर्ता भएका मुद्दामध्ये महिला वादी १०८ र पुरुषवादी ३६ छन् । वैदेशिक रोजगारी, प्रविधिको नकारात्मक असर, मादक पदार्थ सेवन, शैक्षिक तथा आर्थिक स्तरमा असमानता, सामाजिक दबाब, मानसिकता बेमेल, सन्तान नहुनुजस्ता कारणले सम्बन्धविच्छेदका दर बढेको अदालतको भनाइ छ ।
यसबाहेक चालु आर्थिक वर्षमा विभिन्न प्रकृतिका ३३७ नयाँ मुद्दा दर्ता भएका छन् भने गत आर्थिक वर्षबाट सरेर आएका १६० मुद्दासमेत जोड्दा अदालतमा कुल ४९७ मुद्दा पुगेका छन् । तीमध्ये ३३४ मुद्दाको फछ्र्यौट भइसकेको छ भने १६३ मुद्दा हालसम्म बाँकी रहेको अदालतले जनाएको छ ।
स्थानीय स्तरमा बढ्दो वैदेशिक पलायन, सामाजिक संरचनामा आएको परिवर्तन र परिवारमा देखिएको मनोवैज्ञानिक दबाबजस्ता कारणले सम्बन्ध विच्छेदका मुद्दा उल्लेख्य रूपमा बढ्न थालेका कानुनी विश्लेषकहरू बताउँछन् ।

प्रतिक्रिया