लिखु गाउँपालिकाको भवन निर्माणसम्बन्धी विवादमा सर्वोच्चको छीनोफानो, भवन चुवाडाँडामै बन्ने

भिजन समाचार
232
Shares

ओखलढुंगाको लिखु गाउँपालिकाको प्रशासकीय भवन निर्माणसम्बन्धी लामो समयदेखि चल्दै आएको विवादमा सर्वोच्च अदालतले बुधबार अन्तिम छीनोफानो गरेको छ । सर्वोच्चले दायर मुद्दा खारेज गरेसँगै भवन गाउँपालिकाको वर्तमान कार्यालय रहेको चुवाडाँडामै निर्माण हुने पक्का भएको हो ।

लिखु गाउँपालिकाको प्रशासनिक भवन कहाँ बनाउने भन्ने विषयमा विगत लामो समय देखि नै विवाद रहँदै आएको थियो । तत्कालीन अध्यक्ष गोविन्द पौडेलको कार्यकालमा वडा नम्बर ५ मा स्थानीयसँग करिब १० रोपनी जग्गा खरिद गरिएको भए पनि त्यही स्थानमा भवन बनाउने निर्णय कार्यपालिकाबाट नभएपछि विवाद चर्किएको थियो ।

गाउँपालिकाले भवन (हाल पालिका भवन भएको स्थान) चुवाडाँडामै निर्माण गर्न लागेपछि असन्तुष्ट स्थानीयहरूले उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगामा मुद्धा दायर गरेका थिए । सो मुद्धामा अदालतले गाउँपालिकाको पक्षमा फैसला गर्दै चुवाडाँडामै भवन बनाउन दिने निर्णय गरेको थियो ।

त्यसको आधारमा गाउँपालिकाले बैशाख २६ गते शिलान्यास गरी भवन निर्माण कार्य सुरु गरेको थियो । तर पुनः ‘नाम अर्को ठाउँको देखाएर निर्माण चुवाडाँडामा गरिएको’ भन्दै असन्तुष्ट पक्ष सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले सो मुद्दामा असार ८ गते बहस सुनेपछि असार १८ गते बुधबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासबाट मुद्दा खारेज गर्ने फैसला सुनाएको थियो ।

अब ढुक्क संग प्रशासनिक भवनको निर्माण कार्य निरन्तर अघि बढ्ने गाउँपालिका अध्यक्ष अशोक कुमार कार्कीले बताए । हाल भवन निर्माण कार्य सुरु भइसकेको छ ।

आरोहण बिल्डर्स निर्माण कम्पनीले चार करोड ३२ लाख ७७ हजार ६५३ रुपैयाँ ५२ पैसामा ठेक्का लिएको छ । यो भवन स्थानीय पूर्वाधार विकास कार्यक्रमको ६० प्रतिशत तथा गाउँपालिकाको ४० प्रतिशत साझेदारीमा निर्माण हुँदैछ । दुई वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ ।