सुनकोशी गाउँपालिकाले अघिल्लो सरकारका कार्यक्रमलाई दियो निरन्तरता

भिजन समाचार
140
Shares

सुनकोशी गाउँपालिका ओखलढुंगाले आर्थिक वर्ष २०८२/०८३ का लागि अघिल्लो सरकारद्वारा सञ्चालन गरिएका कार्यक्रमहरूलाई नै निरन्तरता दिएको छ । गाउँपालिकाले ६२ करोड ५४ लाख ७८ हजार ११७ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । चालु र पुजिगत गरी सुनकोशी गाउँपालिकाको १७ औं गाउँसभा बाट उक्त बजेट बराबरको निति कार्यक्रम सार्वजनिक गरिएको हो ।

गाउँपालिका अध्यक्ष कमल तामाङ मार्फत सार्वजनिक गरिएको निति तथा कार्यक्रममा अघिल्लो सरकारले ल्याएको लोकप्रिय कार्यक्रमहरुलाई प्राथमिकता दिईएको छ । सबैभन्दा जेष्ठ दलितलाई रकम सहित सम्मान गर्ने, जन्म र मृत्यु संस्कार खर्च दिने अघिल्लो सरकारका लोकप्रिय कार्यक्रमहरु हुन् ।

यसका साथै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीका अनुसार, यस वर्षको बजेटले विगतका योजनालाई निरन्तरता दिँदै ती क्षेत्रमा थप प्रभावकारी ढंगले कार्यान्वयन गर्ने लक्ष्य लिएको छ ।

“शिक्षामा गुणस्तर वृद्धि, कृषिमा लगानी बढाउने, खानेपानी समस्याको समाधान तथा गाउँमै उपचार सेवा पुर्याउने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन लगायतका कार्यक्रमहरू समावेश गरिएका छन्,” प्रमुख प्रशासकीय अधिकृत कार्कीले बताए ।

गाउँपालिकाले शिक्षामा शिक्षक तालिम, विद्यार्थीको सिकाइ क्षमता अभिवृद्धि, झाेला वितरण तथा आधारभूत पूर्वाधार सुधारका योजना अघि सारेको छ ।

गाउँपालिकाले ल्याएको निति कार्यक्रमले नयाँ र सृजनात्मक कार्यक्रमहरूको अपेक्षा राख्ने पालिकाबासीका लागि भने केही निराशाजनक पक्ष देखिएको छ ।