पत्रकारिताप्रति युवाको आकर्षण, दुई दिने तालिममा ४७ जना सहभागी

भिजन समाचार
126
Shares

ओखलढुंगामा पत्रकारिताप्रति युवाको आकर्षण बढ्दो देखिएको छ । नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखाको आयोजना र कोशी प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा सम्पन्न दुई दिने पत्रकारिता तालिममा ४७ जनाको सहभागिता देखिएको हो ।

असार ८ र ९ गते सञ्चालित तालिममा जिल्लाका विभिन्न पालिकाबाट आएका सहभागीहरूलाई पत्रकार आचारसंहिता, सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता, व्यावसायिक हकहित, भौतिक सुरक्षा र पत्रकारितामा एआई (कृत्रिम बुद्धिमत्ता) को प्रयोगजस्ता विषयमा प्रशिक्षण दिइएको थियो । तालिममा पत्रकार प्रकाश बस्याल, शिवप्रसाद ढुंगाना र एसबी जेरोले प्रशिक्षण दिएका थिए ।

सोमबार सम्पन्न समापन समारोहमा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख टेकराज भट्टराईले स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र निडर पत्रकारिता गर्न प्रशिक्षार्थीहरूलाई आग्रह गर्दै सुशासन र समृद्धिमा टेवा पु¥याउने पत्रकारिताको भूमिकामा जोड दिए ।

नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखाका उपाध्यक्ष रविन श्रेष्ठले व्यावसायिक क्षमता अभिवृद्धि र स्वतन्त्र प्रेसको मर्म पालनामा तालिमले सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

महासंघ जिल्ला शाखाका अध्यक्ष पूर्णप्रसाद न्यौपानेको नेतृत्वमा सञ्चालित उक्त तालिमले स्थानीय पत्रकारिताको गुणस्तर उन्नयन र पेशागत संकट समाधानमा योगदान पु¥याउने अपेक्षा गरिएको छ । सहभागीहरूले तालिम उपयोगी भएको भन्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन् ।