ओखलढुङ्गामा कर नबुझाउने २१४ करदातालाई कारबाही, ९६ लाख बढी कर उठेन

भिजन समाचार
32
Shares

करदाता सेवा कार्यालय ओखलढुंगाले लामो समय देखि कर नबुझाउने २१४ करदारतामाथि कारबाही थालेको छ । पटक–पटक कर दाखिलाका लागि आग्रह गरिए पनि अटेरी गर्ने करदातामाथि कारबाही प्रक्रिया अघि बढाइएको हो ।

जिल्लामा २०५८ साल देखि हालसम्म समयमा कर नतिर्ने करदाताको संख्या २१४ रहेको र उनीहरुबाट ९६ लाख १५ हजार ९८० रुपैया विभिन्न शिर्षकमा राजश्व संकलन हुन बाँकी रहेको करदाता सेवा कार्यालय ओखलढुंगाका कर अधिकृत अर्बिन रानाभाटले भिजनसँग बताए ।  

कार्यालयले विभिन्न माध्यमबाट पटक–पटक ती करदातालाई कर बुझाउन आग्रह गरेपनि अटेरी गरेपछि करदाताको बैङ्क खाता रोक्का गरेर राजश्व असुलउपरका लागि कानुनी प्रक्रिया अघि बढाइएको उनको भनाई छ ।

दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने करदाताको अभिलेख तयार गरेर बैङ्क खाता, आयात–निर्यात र सम्पत्ति रोक्काका लागि कानुनी कारबाहीको प्रकृया सुरु भइसकेको छ ।

१० महिनामा २१ करोड बढी राजश्व संकलन

करदाता सेवा कार्यालय ओखलढुङ्गाले दश महिनाको अवधिमा २१ करोड बढी राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को साउन देखि बैशाखसम्मको अवधिमा कार्यालयले २१ करोड ७५ लाख ८८ हजार राजश्व संकलन गरेको हो ।

जम्मा ३२ करोड ५७ लाख तीन हजार राजश्व संकलन गर्ने लक्ष्य लिइएको भएपनि हालसम्म लक्ष्यको ६६.८१ प्रतिशत मात्र राजश्व संकलन भएको छ ।

कार्यालयको तथ्यांक अनुसार सबैभन्दा बढी आयकर वापत १३ करोड ६४ लाख ४८ हजार र भ्याट कर वापत सात करोड ४० लाख ३५ हजार राजश्व संकलन भएको छ । चैत र वैशाखमा भ्याट कर वापत अधिक मात्रामा राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

अन्त शुल्क वापत ३७ लाख ५१ हजार, घर बहाल कर वापत २५ लाख ३४ हजार, ब्याज कर वापत आठ लाख १८ हजार र स्वस्थ्य सेवा वापत तीन हजार राजश्व संकलन भएको छ ।

कार्यालयबाट स्थायी लेखा नम्बर दर्ता नविकरण, अन्तः शुल्क दर्ता, कर चुक्ता, कारोबार थपघट, कारोबार बन्द लगायतका सेवा प्रदान हुँदै आएको छ ।

कार्यालयले सोलखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका बाहेक ओखलढुङ्गा र सोलुखुम्बुका सबै स्थानिय तहलाई सेवा दिँदै आएको छ ।