तिम्ल्याहा शिशु जन्माउने आमालाई मोलुङ गाउँपालिकाले ५० हजार दिने

भिजन समाचार
168
Shares

यहाँको मोलुङ गाउँपालिकाले तिम्ल्याहा शिशु जन्माएकी एक आमालाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । गत शुक्रबार सफल शल्यक्रियापछि एकै पटक तीन शिशुलाई जन्म दिने मोलुङ–६ श्रीचौर की ३२ वर्षीया हिरा तामाङलाई गाउँपालिकाले ५० हजार नगद आर्थिक सहयोग गर्ने भएको हो ।

असाधारण प्रसूति घटनालाई संवेदनशील रूपमा लिएर तामाङ परिवारलाई तत्काल राहतस्वरूप पचास हजार सहयोग उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष उत्तम राईले बताए । आमाको साहस, स्वास्थ्यकर्मीको प्रयास र शिशुहरूको सुरक्षित जन्मप्रति प्रसंसा गर्दै अध्यक्ष राईले भने ‘यो एक सुखद् र दुर्लभ घटना हो । आमाको हिम्मत र चिकित्सकीय सफलताले तीन नवजीवनको सुरुआत भएको छ । मोलुङ गाउँपालिकाले आफ्ना नागरिकप्रति जिम्मेवारी वहन गर्दै आवश्यक सहयोग उपलब्ध गराउनेछ कार्यक्रम अनुसार आर्थिक सहयोग गरेर नवजात शिशु र आमाका लागि पोषिलो खानेकुरा पुगोस् भन्ने पालिकाको लक्ष्य हो ।’ गाउँपालिकाले आमा र शिशुको स्वास्थ्य परीक्षण, स्याहार र पोषणको अवस्था सुनिश्चित गर्न स्वास्थ्य शाखा र श्रीचौर स्वास्थ्य चौकी मार्फत विशेष निगरानी गर्ने समेत निर्णय गरेको छ ।

हाल आमा र तीनवटै शिशुको स्वास्थ्य सामान्य छ ।

मोलुङ गाउँपालिकाले गर्भवती, सुत्केरी, दिर्घरोगी, विपन्न, अपाङ्गता भएका एवम् वृद्धवृद्धा र जटिल रोग लागेका नागरिकलाई आर्थिक सहायता दिँदै आएको छ ।