मूलखर्क । ओखलढुंगाको सुनकोशी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत नहुँदा सेवा प्रभावित बनेको छ । प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्की र लेखा अधिकृत सुवास धमला कार्यालयमा अनुपस्थिति हुँदा कार्यालयमा आएका सेवाग्राहीहरू मारमा परेका हुन् ।
हाल योजना सम्झौता तथा भुक्तानीको चटारो चलेको बेला यी दुई जिम्मेवार पदाधिकारी कार्यालयमै अनुपस्थित हुँदा पालिकामा सेवा लिन आउने स्थानीयवासी र योजनासँग सम्बन्धित उपभोक्ता समितिहरू समस्यामा परेका छन् ।
मंगलबार वडादेखि आएर सेवा नपाउँदा निरास भएर फर्कनु परेको एक सेवाग्राहीले बताए ।
योजनाको सुरुवात, ठेक्का सम्झौता, प्राविधिक अनुमोदन तथा भुक्तानीको प्रक्रिया यतिबेला तीव्र गतिमा हुनु पर्ने समय भएपनि जिम्मेवार अधिकृतहरूको गैरहाजिरीले सुनकोशीका सेवाग्राहीले समस्या भोगेका हुन् ।
यसैबीच, प्रमुख प्रशासकीय अधिकृत कार्की र लेखा अधिकृत धमलाको अनुपस्थितिको कारणबारे कार्यालयले औपचारिक जानकारी दिएको छैन ।

प्रतिक्रिया