नेपाली सेनाको पहलमा ऐतिहासिक तलुवा गढीको पुनर्जीवन

भिजन समाचार
154
Shares

नेपाली सेनाको प्रयासमा ओखलढुङ्गाको ऐतिहासिक तलुवा गढीको मर्मत–सम्भार सम्पन्न भई यसको मुहार नै फेरिएको छ । जिर्ण अवस्थामा रहेको सिद्धिचरण नगरपालिका–२, ठुलाछापस्थित गढीको मर्मत सकेर दुर्गा बक्स गण ओखलढुङ्गाले एक कार्यक्रमबीच सिद्धिचरण नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

दुर्गा बक्स गणका गणपति तथा प्रमुख सेनानी विजय प्रकाश आङ्देम्बेले नगरप्रमुख तेजेन्द्र खनाल र वडा नं.–२ का अध्यक्ष बसन्त कटवाललाई गढी हस्तान्तरण गरेका हुन् । कार्यक्रममा सेनानी आङ्देम्बेले ऐतिहासिक गढीहरूको संरक्षणमार्फत इतिहासलाई जीवित राख्ने उद्देश्यसहित मर्मत, सम्भार र प्रवद्र्धनमा सेना सक्रिय रहेको बताए । उनले गढीलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सेनाले निरन्तर योगदान गरिरहेको उल्लेख गरेका छन् ।

नगरप्रमुख खनालले सेनाको सीमित बजेटबाट गरिएको उत्कृष्ट कार्यको प्रशंसा गर्दै, गढीको थप स्तरोन्नतीमा नगरपालिका र सेनाबीचको सहकार्य अझ सुदृढ बनाइने प्रतिबद्धता जनाएका छन् । वडा अध्यक्ष कटवालले गढी संरक्षण वडाको प्राथमिकतामा परेको बताउँदै, सेनाको सहयोगले कार्य सहज र प्रभावकारी बनेको बताए ।

आर्थिक वर्ष २०८१÷८२ मा “शीघ्र प्रभावकारी आयोजना” शीर्षक अन्तर्गत सात लाख रुपैयाँ बजेट विनियोजन गरी दुर्गा बक्स गणले सिद्धिचरण नगरपालिका र वडा नं.–२ को सहकार्यमा गढीको स्तरोन्नती गरेको हो ।

सेनाले जिर्ण भइसकेको मन्दिरको स्तरोन्नती, पर्खाल मर्मत, छानो निर्माण, सजावट, ढुंगा बिछ्याउने, रंगरोगन, प्रवेशद्वार निर्माण, दुईवटा ठूला घण्टीको स्थापना र गढी जाने बाटो निर्माणजस्ता कार्य सम्पन्न गरेको छ ।

ऐतिहासिक सन्दर्भ

ऐतिहासिक अभिलेखअनुसार, नेपाल एकीकरणको क्रममा मकवानपुर कब्जापछि सेनवंशी राजाहरूले किरात राज्यमाथि आक्रमण गर्दा तलुवा गढीबाट तोलवा राजाले प्रतिरोध गरेको इतिहास पाइन्छ ।

तलुवा गढी केवल सांस्कृतिक सम्पदा वा ऐतिहासिक विरासत मात्र नभई स्थानीय जीवनशैली, धार्मिक आस्था र पर्यटकीय सम्भावनाको केन्द्र समेत हो । गढी परिसरमै रहेको जानुकादेवीको मन्दिर धार्मिक दृष्टिले समेत महत्वपूर्ण मानिन्छ ।

सरोकारवालाहरूका अनुसार, गढीको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसारमा समुचित ध्यान दिन सक्ने हो भने ओखलढुङ्गालाई प्रमुख पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न सकिने सम्भावना बलियो छ ।